• १९ पुस २०८१, शुक्रबार

मुहान सुक्न थालेपछि पानीपोखरी

blog

सल्यान समाचारदाता

सल्यान, असोज १७ गते । सल्यानमा पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने क्रम बढ्दै गएपछि जिल्लाका स्थानीय जलाधार संरक्षणमा जुटेका छन् । पानीका मुहान सुक्दा प्रकृति र पर्यावरणमै ह्रास आउन थालेपछि वनजङ्गल, चराचुरुङ्गी, पशुवस्तु र जलचरको पर्यावरण चक्रको अनुकूलता कायम राख्ने प्रयासमा पुराना पोखरीको संरक्षण तथा नयाँ पोखरी निर्माण गरी जलाधार संरक्षणमा जुटेका हुन् । 

वनगाड कुपिण्डे–७ मा रहेकोे मैदुपोखरी पुरानो पोखरी हो । यहाँको स्थानीय कला संस्कृतिसँग जोडिएको मैदुपोखरी पछिल्लो समय जलवायु परिवर्तन र संरक्षणको अभावमा सुक्दै जान थालेपछि संरक्षण गर्न थालिएको छ । यहाँका कतिपय पुराना मूल सुकिसकेका छन् । यसको प्रत्यक्ष असर मानव जाति, खेतीयोग्य जमिन, वनजङ्गल, जङ्गली जनावर, चराचुरुङ्गी र बोटबिरुवालाई परेको छ । वनगाडमा रहेको मैदुपोखरी मात्र होइन, जिल्लाका वनगाड कुपिण्डे नगरपालिकाका विभिन्न स्थानमा रहेका पुराना पोखरी, कुवा र मुहान संरक्षण गर्न थालिएको छ । 

वनगाड कुपिण्डे नगरपालिका–१ का थुमबहादुर बिसीले नयाँ पोखरी पनि निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार पुनर्भरण पोखरीले वातावरण सन्तुलनमा ठुलो सहयोग हुने विश्वास गरिएको छ ।

वनगाड कुपिण्डे नगरपालिकालगायत कुमाख गाउँपालिकाका केही वडामा समेत पुराना पोखरी तथा मुहान संरक्षण थालिएको छ भने नयाँ पोखरी पनि निर्माण गरिएको छ । पानीकै अभावमा स्थानीयलाई समस्या भइरहेको अवस्थामा डिभिजन वन कार्यालय अन्तर्गतको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) ले पुराना पोखरी र कुवा संरक्षण कार्यव्रmम सञ्चालन गरिरहेको हो । 

वनगाड कुपिण्डे नगरपालिकामा पछिल्लो पाँच वर्षयता मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानलाई पुनर्जीवित गर्न वर्षाको पानीलाई जम्मा गर्न पुनर्भरण पोखरी निर्माण गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका उपप्रमुख पुरुषोत्तम आचार्यले पोखरी मुहान संरक्षणका लागि मात्र नभई भलबारीले तल्लो तटीय क्षेत्रमा ल्याउने प्रकोपको जोखिम नियन्त्रणका लागि पनि उपयोगी देखिएको बताउनुभयो ।

विगत पाँच वर्षयता सल्यानका दुई पालिका वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा ठुलासाना गरी ७८ वटा पुनर्भरण पोखरी निर्माण गरिएका छन् । पोखरी आसपासमा नयाँ प्रजातिका बिरुवासमेत रोपिएका छन् । यस वर्ष डिभिजन वन कार्यालय सल्यान र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना अन्तर्गत जिल्लाभर २२ वटा पुनर्भरण पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले खोला खोल्सामा चेक ड्याम, जैविक चेक ड्याम निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार बर्खाको पानी सङ्कलन हुने पोखरीमा चैत÷वैशाखको सुक्खायाममा पनि जमिन सिञ्चित हुने र पशुवस्तुलाई पानी खुवाउन सहज हुने अपेक्षा लिइएको छ । 

जिल्ला संयोजक दिगम्बर दाहालले काम गर्दा मेसिन प्रयोग निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार विगत पाँच वर्षयता पाँच करोड रुपियाँ वन, वातावरण संरक्षणका क्षेत्रमा खर्च गरिएको छ ।