• १९ असोज २०८१, शनिबार

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा

blog

दीपेन्द्रसिंह ऐरी । फाइल तस्बिर

काठमाडौँ, असोज १६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिनुभएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो ओगट्नुभएको हो । यसअघि दीपेन्द्र छैटौँ स्थानमा हुनुहुन्थ्यो ।

शीर्षस्थानमा इङ्गल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन हुनुहुन्छ । दीपेन्द्रको रेटिङ दुई सय ३० छ भने लिविगंस्टोनको दुई सय ५३रहेको छ । नेपालबाट अलराउन्डतर्फ गुलशन झाले एघार स्थान सुधार गर्नुभएको छ । यथा स्थानमा रहनुभएका कप्तान रोहितकुमार पौडेल र गुलशन ५३औँ स्थानमा हुनुहुन्छ । 

यस्तै कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६०औँ र कुशल मल्ल ४०औँ स्थानमा हुनुहुन्छ । ब्याटिङतर्फको दीपेन्द्र दुई स्थान सुधार गर्नुभएको छ । ब्याटिङमा उहाँ ४३औँ स्थानमा हुनुहुन्छ ।

कप्तान रोहितको एक खस्कँदै ६१औँ र दुई स्थान खस्किएको आसिफ शेख ७०औँ स्थानमा हुनुहुन्छ । एक स्थान सुधार गर्नुभएका कुशल मल्ल एक सयौँ स्थानमा हुनुहुन्छ । 

यस्तै बलिङतर्फ दीपेन्द्र २३ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लिनुभएको छ । एक स्थान खस्किएको सोमपाल कामी ९१औँ स्थानमा हुनुहुन्छ । राष्ट्रिय टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा कायम छ । 

नेपाल र ओमान भिड्दै

त्रिकोणात्मक टी–२० सिरिजमा आज (बुधबार) राति नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किङ्ग सिटी मैदानमा राति ९:४५ बजे सुरु हुने खेलमा नेपाललाई फाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाब छ ।

नेपाल पहिलो खेलमा घरेलु टोली क्यानडासँग १४ रन र अर्को खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

आज ओमानलाई हराएमा नेपालले सिरिजको फाइनल खेल्नेछ । ओमानले दोस्रो खेलमा क्यानडालाई आठ विकेटले हराएको थियो ।