नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागनु ३० गते । जिल्लामा छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार राति पौने ११ बजेतिर यशोधरा गाउँपालिकाको वसन्तपुर-पुरनिहवा सडक खण्डमा सेमराहवा चोकदेखि वसन्तपुरतर्फ जाँदै गरेको लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले दुर्घटनामा यशोधरा गाउपालिका वडा नम्बर १ तिर्खिर्खीका ४२ वर्षीय रम कुमार चौधरीको मृत्यु भएको बताउनुभयो ।
घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले चौधरीलाई मृत घोषणा गरेको थियो ।त्यस्तै तौलिहवा–बहादुरगञ्ज सडक खण्ड अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर ३ गनवरियामा युपी ४७ एएल ४८२२ नम्बरको बुलेट बाइक दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका वडा नम्बर १ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीलाई भैरहवाको मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा राति साढे नौ बजेतिर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनामा गम्भीर घाइते भएकी २८ बर्षिया पुष्पा चौधरीको मेडिकल कलेजमा उपचार भइरहेको छ ।यसैगरी तौलिहवा-गोरुसिङ्गे सडकखण्डमा तौलिहवाबाट गोरुसिङ्गे जाँदै गरेको लु ९७ प ०९४६ नम्बरको मोटरसाइकललाई हरिणले झुक्याउँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
घटनामा मोटरसाइकलको पछाडि सिटमा बसेका यशोधरा गाउपालिका ४ का ६५ वर्षीय गोमती प्रसाद यादवको रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५५ वर्षीय गिरीजेश कुमार पाण्डेय घाइते भएको र उहाँको भारतको लखनउमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।