काठमाडौँ, फागुन ३० गते । खाना पकाउने ग्यास र सवारीसाधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर बढी मूल्य लिने तथा इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्नुहुन्छ, “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी र उपभोक्ताहरूमा हाम्रो अनुरोध छ ।”
काफ्लेका अनुसार ग्यास अभाव हुने आशङ्काले उपभोक्ताहरूले आवश्यकताभन्दा बढी माग गर्ने गरेको पनि पाइएको छ । यसरी ग्यास सञ्चिति गर्दा माग र आपूर्तिको चक्रमा असर पुग्ने भन्दै उहाँले उपभोक्ताहरूलाई समेत जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्नो दायित्व सबैले पूरा गर्नुपर्छ ।”
पेट्रोल पम्पले आफूसँग मौज्दात इन्धन हुँदाहुँदै सवारीसाधनलाई उपलब्ध नगराएको सूचना आएकाले त्यस्ता पम्पहरूमा समेत निगरानी थालिएको महानगरको भनाइ छ । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ ।
ग्यास विक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । माग धेरै भएकाले बजारमा केही अभाव देखिएको हो । उपभोक्ताले सञ्चितिका लागि अनावश्यक माग नगरे समस्या नदेखिने उहाँले स्पष्ट पार्नुभयो ।