• ३० फागुन २०८२, शनिबार

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

blog

सियोल, फागुन ३० गते । उत्तर कोरियाले शनिबार जापानको समुद्र क्षेत्रमा करिब दश वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सियोलको संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएको छ । सियोलको सेनाले उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १:२० बजे ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जेसीएसले विज्ञप्ति मार्फत जनाएको हो । 

मिसाइल करिब ३५० किलोमिटरको दूरीमा प्रहार गरिएको छ । दक्षिण कोरियाली सेना ‘कुनै पनि उक्साहटको जवाफ दिन’ तयार रहेको जेसीएसले जनाएको छ । जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रक्षेपणको पुष्टि गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाबाटै प्रक्षेपण गरिएको पुष्टि गरेको छ । दक्षिण कोरियाली प्रधानमन्त्री किम मिन-सिओकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङका नेता किम जोङ-उनसँग भेटवार्ता हुने निर्णयको केही समय पछि यो घोषणा आएको हो । 

वासिङ्टनले दशकौ देखि उत्तर कोरियाको आणविक कार्यक्रमलाई ध्वस्त पार्ने प्रयासको नेतृत्व गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनले पछिल्ले समयमा प्योङयाङसँग उच्चस्तरीय वार्तालाई पुनर्जीवित गर्न दबाब दिएको छ । अक्टोबरमा एसियाको भ्रमणका क्रममा ट्रम्पले किम जोङ-उनसँगको भेटका लागि खुला रहेको बताउनु भएको थियो भने उत्तर कोरियाले टिप्पणीको जवाफ नदिएको बताइएको थियो । 

महिनाौँसम्म ती प्रस्तावलाई धेरै हदसम्म बेवास्ता गरे पछि किम जोङ उनले हालै वासिङ्टनले प्योङयाङको आणविक स्थितिलाई स्वीकार गरेमा दुई राष्ट्रबिच मेलमिलाप हुन सक्ने बताउनु भएको छ । हाल विश्वको ध्यान मध्यपूर्वको युद्धमा केन्द्रित रहेको अवस्थामा उत्तर कोरियाले आफ्नो उपस्थितिमा ध्यान आकर्षित गर्न ऐतिहासिक रूपमा सैन्य उक्साहट गरेको कोरिया इन्स्टिच्युट फर मिलिटरी अफेयर्सका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ-पियोलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

सन् १९५० मा आफ्नो छिमेकी माथि आक्रमण गरी कोरियाली युद्ध सुरु गरेको परमाणु-सशस्त्र उत्तर-कोरियाले लामो समय देखि यस्तो अभ्यासलाई आक्रमणको रूपमा वर्णन गर्दै आएको छ । प्योङयाङले इरानमाथि भएको अमेरिका-इजरायली आक्रमणलाई आक्रमणको अवैध कार्य भन्दै निन्दा गरेको छ भने यसले अमेरिकाको दुष्ट प्रकृतिलाई देखाउने दाबी गरेको छ । रासस/एएफपी