राजन रावत
हुम्ला, फागुन ३० गते । अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप वृद्धि भएको छ ।
लामो समय पानी नपरेको कारण मौसमी फ्लुका साथै दम तथा प्रेशरका बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
दुई तीन दिनयता अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या ह्वात्तै वृद्धि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीले बताउनुभयो ।
लामो समय खडेरी परेको कारण धुँवा र धुलो बढेको कारण मौसमी फ्लुका बिरामीहरू बढ्दा अस्पतालको चाप वृद्धि भएको उहाँको भनाइ छ ।
अस्पतालले ओपिडी सेवामा दुई जना चिकित्सकको ब्यवस्था गरेर उपचार गर्ने व्यवस्था गरिएको बताउँदै आवश्यक परे आफूले समेत सेवा दिई रहेको उहाँले बताउनुभयो ।
तीन दिन यता अस्पतालमा दैनिक १२० जनासम्म बिरामीहरू उपचारका लागि आउने र चेकजाँच पछि बिरामीको अवस्था हेरेर अस्पतालमा भर्ना गर्ने र उपचारपछि घर फिर्ता पठाउने व्यवस्था अस्पतालले गर्दै आएको छ ।
मङ्गलबार मात्र एघार जना अस्पतालमा भर्ना गरिएको बताउँदै चिकित्सक तिवारीले मौसमी फ्लुका साथै दम, निमोनिया, सुत्केरी व्यथा लागेकी गर्भवती लगायतका बिरामीको उपचार हुने गरेको उहाँको भनाइ छ ।
बिरामीको चाप बढेपछि अस्पतालले चौबीसै घण्टा सेवा दिने गरि चिकित्सकको पालो लगाएर उपचार गर्ने व्यवस्था गरिएको छ।
मङ्गलबार मात्र सिमकोट गाउँपालिका-२ को ठेहे गाउँबाट तीन जना बिरामीलाई निजी गाडीमा उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । बिरामीको चाप बढेपनि जनशक्ति र औषधी व्यवस्था राम्ररी गरिएको अस्पतालले जनाएको छ ।