• ३० फागुन २०८२, शनिबार

एक महिने रोजामा सहभागी सात वर्षीय बालक

blog

रोजामा बसेका उमर फारुख ।तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), फागुन ३० गते । मुस्लिम धर्मावलम्वीहरूको एक महिने रमजान पर्व (रोजा) मा  सात वर्षीय बालक पनि सहभागी हुनुभएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ निवासी सात  वर्षीय बालक मो.उमर फारुख एक महिने रोजा पर्वमा सहभागी हुनुभएको छ । बिहानैदेखि रोजा ( व्रत ) बसेर पवित्र धार्मिकग्रन्थ कुरानपाठ गर्ने विधिमा उहाँ बुवा मो.हलिम अख्तर उर्फ मज्जो तथा आमा अहमदी खातुनसंगै सहभागी हुने गर्नुभएको छ । 

उमर फारुख दिनभर रोजा (निराहार व्रत) मा बस्ने तथा साँझ निश्चित समय पुरा भएपछि अन्नजल ग्रहण (रोजा अफतार) मा सहभागि हुने गरेको उहाँका बुवा मो.मज्जो बताउनुहुन्छ ।

रमजान महिनामा बालबालिका, वृद्ध, सुत्केरी र बिरामीलाई रोजा अनिवार्य छैन् । तर, नाबालक छोरा उमर फारुखले आफू पनि रोजा बस्ने रहर व्यक्त गरेपछि रोजा बस्ने अनुमति दिएको उहाँका बुवाले बताउनुभयो ।

एका बिहानैको अन्न (सेरी) खाएपछि दिनभर निराहार व्रत बस्ने उमर फारुखले आफूलाई रोजा ( व्रत ) बस्न इच्छा लागेकाले आमा बुवालाई भनेर यसमा सहभागी भएको बताउनुभयो ।

 एक महिना सम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय इदगाहमा पुगी सामूहिक नवाज पढ्ने तथा गरिब असहायलाई आ–आफ्नो सम्पत्तिको केही हिस्सा सहयोग गरेर इद मनाउने चलन रहेको मुस्लिम समाज सप्तरीका सचिव इरसाद अन्सारीले बताउनुभयो ।