• १३ असोज २०८१, आइतबार

बल्खुमा बाढीको वितण्डा : चार सय नागरिक विस्थापित

blog

काठमाडौँ, असोज १३ गते । बल्खु क्षेत्रमा बस्दै आउनुभएकी गायत्री सापकोटा खोला बढेर आउँदा खाना पकाउँदै हुनुहुन्थ्यो । ६० वर्षीय गायत्री मुटुरोगी समेत हुनुहुन्छ । 

उहाँले भन्नुभयो, “खाना पकाउँदा–पकाउँदै ह्वात्तै खोला बढेर आयो । म मुटु रोगी छु । घरको केही सामान झिक्न पाइनँ । पानीमा भिजेर काम्दै आउँदा ज्वरो पनि आयो । श्रीमान् कसरी बाहिर निस्कनुभयो थाहा भएन । म अगाडि नै आएँ । एउटा लास झिकेर ल्याउँदा बुढो परेछ भनेर रुवाबासी नै भयो ।”

बल्खु खोला क्षेत्रमा डुबान र पहिरोबाट प्रभावित झण्डै चार सयभन्दा बढी परिवारलाई नजिकैको जन विकास माध्यमिक विद्यालयमा राखिएको छ । कसैलाई जनमैत्री क्याम्पस र कतिलाई कुलेश्वर आवासीय माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।


जन विकास माविको एक सटरमा दूधे बालक च्यापेर बस्नुभएकी अप्सरा श्रेष्ठको घर पनि बाढीले बगायो । उहाँको तीन सन्तान छन् ।

उहाँले भन्नुभयो, “मेरो तीन वटै बच्चा मसँग थिए । हामीलाई प्रहरीले उद्धार गर्नुभयो । ओढ्ने, ओछ्याउने  सबै बगायो ।”

होप फर चिल्ड्रेनका प्रोजेक्ट मेनेजर एवम् समाजसेवी गणेश श्रेष्ठले यो वर्षभित्र मात्रै बल्खुमा चार पटक बाढी आएको बताउनुभयो । उहाँले यो पटक पनि विगतमा जस्तै सामान्य वर्षा हुने र केही समयमा कम हुने सोचेका कारण मानिस घरमै बसेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बस्तीमा पानी छिरेको चौथो पटक हो । विगतमा पानी छिरे पनि १२ घण्टापछि सामान्य अवस्था हुन्थ्यो । पानी सामान्य नै आउँछ भन्ने सोच्नुभएको थियो । तर, पहिलाको तुलनामा यो पटक एकतला घर नै पुरै डुबान भयो ।”


श्री कुमारी क्लबका पदाधिकारी एवम् समाजसेवी राजु दानी क्षेत्रीले बल्खुमा बाढी तथा पहिरोमा परेका अधिकांश परिवारको बालबालिका जन विकास माविमा पढ्दै आएको बताउनुभयो ।  उहाँका अनुसार मारवाडी सेवा समिति, हन्ड्रेड ग्रुप ब्वाइज लगायतका संस्थासँगको समन्वयमा उनीहरूलाई खाना तथा लत्ता कपडाको व्यवस्था गरिएको छ ।

बल्खुमा आएको यो पटकको बाढीले श्याम सार्कीको तीन वटा घर बगाएको छ । आफूहरू विगत २५ वर्षदेखि घर बनाएर यस क्षेत्रमा बस्दै आएको उहाँले बताउनुभयो ।

यस्तै अर्का पीडित राजकुमार विकले खोला छेउमा जोखिम मोलेर बस्नु बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बाध्यता हो । खोलाको छेउमा असुरक्षित ठाउँमा त कोही पनि बस्न चाहँदैन ।”

काठमाडौँ महानगरपालिका वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठले यस क्षेत्रमा चार सयभन्दा बढी घरपरिवार प्रभावित भएको अनुमानित तथ्याङ्क रहेको बताउनुभयो । पीडितको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल हुने उहाँको भनाइ छ ।


यसैगरी, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पीडितको उद्धार एवम् व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । नागरिक समुदाय, स्थानीय निकाय लगायत सबैसँगको समन्वयमा विपद् व्यवस्थापनको कार्य अगाडि बढिरहेको उहाँको भनाइ छ ।

भिडियो : मनोजरत्न शाही


तस्बिरः मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।