• १८ कात्तिक २०८२, मङ्गलबार

मुर्माठाँनाको डाँडा बन्यो मुर्माटप

blog

मुर्माटपबाट देखिएका हिमशृङ्खला । तस्बिरः हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, कात्तिक १७ गते । मुगुको छायानाथ रारा नगरपालिका –९ मा पर्ने मुर्मागाउँको लेकमा अवस्थित हजारौं दशकअघिसम्म ‘मुर्मठाँना’ नामले मात्र चिनिन्थ्यो । मुर्मा  गाउँका किसानको पशु चरन क्षेत्रको रूपमा रहेको यो डाँडा अहिले पर्यटन क्षेत्रको मुर्माटपको नामले प्रसिद्ध भएको छ । 

तीन हजार ५५० मिटरको उचाइमा अवस्थित मुर्माटपबाट रारा ताल र विभिन्न जिल्लाको दृश्य अवलोकनका साथै प्रकृतिप्रेमीहरूको आकर्षण केन्द्र मात्र नभइ, आर्थिक रूपमा पछाडि परेका स्थानीय बासिन्दाका लागि आय–आर्जनको महत्वपूर्ण आधार बन्न थालेको छ ।

मुर्मागाउँका होटल व्यवसायी तथा मुर्माटप युवाकल्वका अध्यक्ष बिर्खबहादुर रोकायाका अनुसार मुर्माठाँनाको नयाँनाम २०५५ सालको कात्तिक महिनामा मुर्माटप युवाकल्वले मुर्माठाँनाको नाम परिवर्तन गरी मुर्माटप राखिएको हो । 

मुर्मटप युवाकल्वका अध्यक्ष रोकायाका अनुसार राराको मुर्माटपमा पर्यटक भित्र्याउने उद्देश्यले यो डाँडाको नाम मुर्माटप राखिएको हो । यो कल्वले आन्तरिक र विदेशी पर्यटकलाई मुर्माटपको प्रचार–प्रसारमा पहल नगरेको भए यो क्षेत्र अहिले ओझेलमै रहने थियो । 

कल्वकै पहलले मुर्माठाना ‘मुर्माटप’ को रूपमा परिचित भयो र गाउँको आर्थिक रूपान्तरणको बाटो खुल्यएको छ । मुर्माटपको पहिचान अहिले पूर्णतः बदलिएको अध्यक्ष रोकायाले बताउनुभयो । मुर्माटप रारा मध्यवर्ती क्षेत्र भित्र पर्दछ । अहिले  राष्ट्रिय स्तरमा प्रचार–प्रसारले पर्यटन प्रवर्धनमा मद्दत पुगेको रोकायाले बताउनुभयो ।

छायानाथ रारा नगरपालिका –९ मुर्मागाउँका स्थानीय नन्दबहादुर रोकायाका अनुसार दुई दशक पहिले मुर्माठानामा वर्षाको समयमा भेडा र पशुचौपायालाई चरन गर्ने लेक थियो । अहिले त्यही स्थानमा दर्जनौँ हिमशृङ्खलाको दर्शन र छिमेकी जिल्ला बाजुरा, हुम्ला, जुम्ला, कालिकोट र दैलेख जिल्लाको दृश्य अवलोकन गर्न सकिने रोकायाले जानकारी दिनुभयो ।

मुर्माटपबाट राराताल, सूर्योदय, सूर्यास्त, सैपाल हिमालको हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । “चैत–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस र पुस–माघको हिउँ मर्माटपको विशेष आकर्षण हो” उहाँले भन्नुभयो, “शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ आउने पर्यटकको यात्रा अविस्मरणीय बनाउँछ ।”

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पदाधिकारीका अनुसार भदौ, असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा मुर्माटप भ्रमणका लागि उपयुक्त समय मानिन्छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेस यादबका अनुसार यहाँ आन्तरिक तथा विदेशी पर्यटक यो आर्थिक वर्षमा चार हजार पर्यटक आएका छन् ।