• १३ असोज २०८१, आइतबार

महिला भलिबल लिगको रौनक

blog

खेलअघि ट्रफीसँग फोटो खिचाउँदै खेलाडीहरु । तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौँ, असोज १३ गते । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को रौनकता चुलिएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो । सोमबारदेखि सुरु हुने लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलीका प्रशिक्षक र कप्तानले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिगले खेलाडीलाई उत्साहित बनाएको र यसले नयाँ खेलाडीको उत्पादनमा सहयोग पुग्ने पनि प्रशिक्षक र कप्तानहरूको भनाइ छ ।


लिगकालागि राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीलाई चितवनले, सरस्वती चौधरीलाई गण्डकी, सलिना श्रेष्ठलाई ललितपुरले, निरुता ठगुन्नालाई मधेशले उषा भण्डारीलाई काठमाडौँ र सुमित्रा रेग्मीलाई कर्णालीले कप्तान (मार्की प्लेअर)  बनाएको छ । 

असोज १९ गतेसम्म दशरथस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने लिगमा हरेक टोलीमा १२ खेलाडी हुनेछन् । जसमा तीन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

चर्चित विदेशी खेलाडीको साथमा नेपाली खेलाडीले खेल्न पाउने हुँदा यस लिगले नेपाली टोलीको प्रदर्शनमा समेत सुधार आउने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा ‘ट्यालेन्ट हन्ट’ बाट आएका एक एक जना यु्वा खेलाडीलाई समेत मौका दिईएको छ ।