• ११ असोज २०८१, शुक्रबार

सूर्यदर्शन सहकारी ठगीः छविलाल जोशीलाई सात दिन हिरासतमा राख्न अनुमति

blog

गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ११ गते। सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान गर्न शुक्रबार दोस्रो पटक म्याद थप भएको छ। नेपाल प्रहरीका निवृत्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत जोशीलाई थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो। 

सहकारीको ठगीबारे विभिन्न शिराबाट अनुसन्धान भइरहेको र थपिएको म्यादभित्र अनुसन्धान सक्ने गरी प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई गत आइतबार काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो। सोमबार उहाँलाई जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरिएको थियो। 

संसदीय छानबिन समितिको प्रतिवदेन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको ठगी प्रकरणको अनुसन्धानअघि बढेको हो। जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो। 

केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात र अन्य महत्त्वपूर्ण सामग्री नियन्त्रणमा लिएको थियो। ५९ वर्षीय जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान जारी छ। 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा १९ जनालाई विपक्षी बनाई २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो। अझै १३ जना फरार छन् भने एक जना हिरासतमा पाँच जना पुर्पक्षका लागि थुनामा छन्। 

प्रहरी प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट एक अर्ब ३५ करोड रकम हिनामिना भएको छ। सहकारी पीडितले पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धानसमेत गरेको छ। सूर्यदर्शनबाट गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिभिजनमा गैरकानुनी रुपमा रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ।

२०६३ मा पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी स्थापना भएको थियो। ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनका जिम्मान २०६७ बाट गीतेन्द्रबाबु (जिबी) राईले पाएका थिए। पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्व उपराष्ट्रपतिका छोरा दिपेशकुमार पुन जोडिएको देखिन्छ। 

सूर्यदर्शनबाट जिबीले चलाएका जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि, नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बाे इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रालि, गुप्ती टि इस्नेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालि लगायतका संस्थामा गैरकानुनी रुपमा रकम पठाइएको पाइएको छ। गोरखा मिडियाले सुरुआतमा नागरिकखबर डटकम अनलाइन सञ्चालन गरेको थियो। त्यसमा पनि सूर्यदर्शनकै पैसा लगानी भएको संसदीय छानबिन समितिले उल्लेख गरेको छ।