• १२ पुस २०८२, शनिबार

खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड मापदण्डविपरीत

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १२ गते । उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ । 

विभागका अनुसार सो क्षेत्रका अन्य साना तथा मझौला होटेलको अनुगमनमा सरसफाइ नभएको, मूल्य सूची नराखिएको, राखेका स्पष्ट देखिने ठाउँमा नभएको पाइएपछि आवश्यक निर्देशन दिएको छ । कतिपयमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएकाले अनुगमन टोलीले नष्ट गरेको पनि जनाइएको छ  यस्तै विभागको अनुगमन टोलीले बुधबार काठमाडौँ सिनामलस्थित आमाको भान्साघर र काठमाडौँ गौरीगाउँको लेकाली किचेन एन्ड कटिया हाउस दर्ताबिना सञ्चालन गरेको पाइएपछि प्रत्येकलाई १० हजार रुपियाँ जरिबाना गरेको थियो । 

विभागका निर्देशक भरतप्रसाद आचार्यले उपत्यकावरपरका साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्टलक्षित अनुगमनमा धेरै जसोमा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको बताउनुभयो । उहाँका अनुसार अनुगमनमा होटेल दर्ता तथा नवीकरण नभएको, सरसफाइ असाध्यै कमजोर रहेको, खाना तथा खाजाको मूल्यसूची नराखिएको जस्ता समस्या देखिएका छन् । विभागको अनुगमन टोलीले दैनिक १५ देखि २५ वटा होटेल तथा रेस्टुरेन्टको अनुगमन गर्दै आएको र सबै जसोमा कुनै न कुनै समस्या देखिएको जानकारी गराइएको छ । केही जेनजी अगुवाले उपत्यकाका साना तथा मझौला होटेल र रेस्टुरेन्टमा सरसफाइ नभएको मूल्यसूची नराखेकोलगायतका समस्यासहितको उजुरीका आधारमा विभागले अनुगमन गरेको जनाइएको छ । विभागले क्रमशः स्टार होटेल र पार्टी प्यालेस पनि मापदण्ड अनुसार सञ्चालन भए वा नभएको अनुगमन गर्ने तयारी गरेको विभागका निर्देशक आचार्यले जानकारी दिनुभयो ।