• १२ पुस २०८२, शनिबार

यातायात कार्यालयबाट चौध जना बिचौलिया पक्राउ

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस १२ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन वटा छुट्टाछुट्टै यातायात कार्यालयमा छापा मारी १४ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार काठमाडौँको गुर्जुधारा, चाबहिलको दक्षिणढोका र भक्तपुरको राधेराधेमा रहेको यातायात कार्यालय र ट्रायल सेन्टरबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकाले सेवाग्राहीसँग लिखित तथा ट्रायल परीक्षा पास गराइदिने, लाम नलागी नवीकरण तथा स्वास्थ्य परीक्षण पास गराइदिने प्रलोभनमा पारी १० हजार रुपियाँसम्म असुल्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का झमकलाल श्रेष्ठ, काभ्रेपलान्चोक बनेपा–५ का अनिमेष अवा, दोलखा तामाकोशी–४ का वासु खड्का, झापा कमल गाउँपालिका–२ का भीमबहादुर नेम्वाङ, काठमाडौँ–८, गुह्येश्वरीका प्रदीप श्रेष्ठ, कागेश्वरी मनोहरा–५ का सर्मिला चौलागाईं, सिन्धुपाल्चोक मेलम्ची–१० का दीपा कटुवाल, पर्वत जलजला–४ का दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरि–५, गुर्जुधाराका रन्जित महर्जन रहेका छन् ।

त्यसै गरी नवलपरासी वर्दघाट–११ का अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का दिवस लामा, सुनसरी इटहरी–१० का सरोज ढुङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का सन्तोष स्याङ्तान र पनौती–५ का दिलिप खड्गी रहेको प्रहरीले जनाएको छ । 

उनीहरूले लिखित तथा ट्रायल फेल भएका सेवाग्राहीलाई यातायात कार्यालयका कर्मचारीलाई हातमा लिएर पास गराइदिने र लाइसेन्स प्रिन्ट तथा ब्लु बुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनी अतिरिक्त रकम लिने गरेको गुनासो सेवाग्राहीले गरेको पनि प्रहरीले जनाएको छ । 

प्रहरीले बिचौलियाले दाबी गरे अनुसार यातायातका कर्मचारीको मिलेमतो छ छैन भन्नेबारे समेत विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ परेकालाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको एसपी आचार्यले जानकारी दिनुभयो ।