गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १२ गते । अर्थतन्त्रमा देखिएको शिथिलताका बिच निर्जीवन बिमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै कम्पनीको प्रिमियम सङ्कलन १९ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।
नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार त्यस्ता कम्पनीले साउनदेखि मङ्सिरसम्म १९ अर्ब ५८ करोड ५६ लाख रुपियाँभन्दा बढी प्रिमियम सङ्कलन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो ।
गत आव २०८१/८२ को मङ्सिर मसान्तसम्म निर्जीवन बिमा कम्पनीले १७ अर्ब ५१ करोड ६६ लाख रुपियाँ प्रिमियम सङ्कलन गरेका थिए । प्राकृतिक विपत्ति, बाढीपहिरो तथा विभिन्न आन्दोलनका कारण अर्थतन्त्रमा दबाब रहे पनि बिमा क्षेत्रले व्यापार विस्तार गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।
समीक्षा अवधिमा बिमालेख सङ्ख्या पनि बढेको छ । गत वर्ष मङ्सिरसम्म १२ लाख ७० हजार बिमालेख सक्रिय रहेकामा यस वर्ष सोही अवधिमा बढेर १३ लाख ४१ हजार पुगेको छ, जुन ५.९५ प्रतिशतको वृद्धि हो ।
समग्रमा कम्पनीको व्यवसायका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले मङ्सिर मसान्तसम्म दुई/दुई अर्ब २१ करोड ९२ लाख रुपियाँ प्रिमियम सङ्कलन गरेको छ ।
त्यसपछि शिखर इन्स्योरेन्सले दुई अर्ब १५ करोड पाँच लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले दुई अर्ब ७० लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ८६ करोड ५४ लाख र एनएलजी इन्स्योरेन्सले एक अर्ब ५७ करोड ८२ लाख रुपियाँ बराबरको प्रिमियम सङ्कलन गरेका छन् ।
वृद्धिदरका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ । कम्पनीको प्रिमियम सङ्कलन ४३.२६ प्रतिशतले बढेको छ । त्यस्तै एनएलजीको ३९.६० प्रतिशत, युनाइटेड अजोडको २७.९५ प्रतिशत, शिखरको २३.४१ प्रतिशत, सानिमा जिआइसीको २२.४६ प्रतिशत र आइजिआई प्रुडेन्सियलको १४.६५ प्रतिशत वृद्धि भएको छ । सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीको अवस्था भने कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म कम्पनीको व्यवसाय गत वर्षको तुलनामा २६.५३ प्रतिशतले घटेर ४९ करोड ३० लाख रुपियाँमा सीमित भएको छ ।
लघु बिमाको व्यवसाय पचास करोडनजिक
समीक्षा अवधिमा चार वटा लघु निर्जीवन बिमा कम्पनीले ४९ करोड ६० लाख रुपियाँ बराबरको व्यवसाय गरेका छन्, जस अनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १३ करोड २१ लाख, नेपाल माइक्राे इन्स्योरेन्सले १३ करोड तीन लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १२ करोड ६० लाख र स्टार माइक्रो इन्स्योरेन्सले १० करोड ७४ लाख रुपियाँ बराबरको कारोबार गरेका छन् ।