• १२ पुस २०८२, शनिबार

भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

blog

भालुको आक्रमणबाट पशुचौपायामा पुगेको क्षतिको विवरण सङ्कलन गर्दै सरोकारवालाहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, पुस १२ गते ।
ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी राहत उपलब्ध गराउन पहल गरिने भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ र १० मा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी कानुन बमोजिम सम्बन्धित निकायबाट राहत उपलब्ध गराउन पहल गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा शुक्रबार बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहलसहित रोकथाम तथा नियन्त्रण गरिने निर्णय गरेको हो । भालुको आक्रमण नियन्त्रणका लागि फुङलिङ नगरपालिकासहितका सबै स्थानीय तह, डिभिजन वन कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयवासीहरूले जिल्लास्थित सुरक्षा निकायको समन्वयमा नियन्त्रणका लागि कार्ययोजना बनाई सबै उपाय अवलम्बन गर्ने निर्णय भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायको समन्वयमा जन तथा पशु धनको सुरक्षाका लागि नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने निर्णय भएको छ । विगत केही साता यता फुङलिङ–९ हाङ्देवा र फुङलिङ–१० फुरुम्बूमा गरी ८ घरधनीका १३ वटा पशु चौपायामा भालुले आक्रमण गरी क्षति पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ ।

भालुको सम्भावित आक्रमणविरुद्ध साइनर प्रयोग गर्नेदेखि सम्भावित नाकाहरूमा ठुलो प्रकृतिको विद्युत बत्ती बाल्ने सम्मका विषयलाई नियन्त्रणको रुपमा उपयोग गर्न सकिने बारेमा समेत छलफल भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो ।