• ११ असोज २०८१, शुक्रबार

बूढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

blog

बाजुराका सुश्री बिपनाकुमारी बूढा र हुम्लाका सुश्री नन्दादेवी रोकाय ।

काठमाडौँ, असोज १० गते । नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुरा र हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रालाई ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बाजुराका सुश्री बिपनाकुमारी बूढालाई ३० हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय भएको जानकारी दिनुभयो । मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो ।

यसैगरी सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई ३० हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय भएको छ ।

सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।

नइ प्रकाशनले नेपालका विभिन्न दुर्गम भूभागका सरकारी विद्यालयबाट १२ कक्षामा सर्वोत्कृष्ट हुने एक–एक जना छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ ।