जनार्जन खत्री
सर्लाही, पुस १२ गते । सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ ।
हरिवनस्थित इन्दुशङ्कर चिनी मिलमा उखु ‘अनलोड’ गरेर फर्कदै गरेको ज १ त ७०१३ नम्बरको ट्याक्टर नहरमा पल्टँदा चालक धनकौल गाउँपालिका–४, महिनाथपुरका ३० वर्षीय अरुण राय यादवको मृत्यु भएको हो ।
शनिबार बिहान नहरभित्र ट्याक्टर खसेर दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । आफूहरु घटनास्थलमा पुग्दा ट्याक्टरको इन्जिनको भागले च्यापिएर चालकको मृत्यु भएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुभयो ।
एकान्त ठाउँमा पर्ने गाउँको भित्री सडकमा शुक्रबार राति कुन समयमा दुर्घटना भयो भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ । शनिबार बिहान खेतबारीमा हिँडेका स्थानीयले देखेपछि मात्रै दुर्घटनाबारे थाहा भएको हो । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको बरहथवाका डिएसपी भट्टराईले बताउनुभयो ।
दुर्घटनामा परेको ट्याक्टर नहरबाट निकालेर इलाका प्रहरी कार्यालय हरकठवामा ल्याइ राखिएको छ । केही दिनदेखि बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेर भिजिबिलिट निकै कम रहेकाले सवारी साधन चलाउँदा गति सिमित गर्न र बत्ती बालेर मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ ।