राधा लुइटेल
फिदिम, पुस १२ गते । किराँत लिम्बूहरुको सांस्कृतिक चाड उधौली पर्व अर्थात् चासोक तङनामका अवसरमा फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनि म्याराथनमा ताप्लेजुङका अमिर तेङवुङ र पाँचथरकी पुष्पा सेर्मा लिम्बू प्रथम हुनु भएको छ ।
पुरुषतर्फ ९.३ किलोमिटर दुरी अमिरले २२ मिनेट र महिलातर्फको ५.२ किलोमिटर दुरी पुष्पाले १९ मिनेटमा पार गर्नुभएको थियो । २९ मिनेटमा दौड पुरा गर्दै पाँचथर मिक्लाजुङका ओसन राई दोस्रो र ताप्लेजुङ फक्ताङलुङका रमेश लिम्बू ३० मिनेटमा दुरी पार गरेर तेस्रो हुनुभयो ।
महिलातर्फ पाँचथर फाल्गुनन्द गाउँपालिकाकी कृतिका नेम्वाङ २० मिनेटमा दोस्रो र २० मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै पाँचथर फिदिमकी मेन्छोमा तुम्वापो, तेस्रो पुरस्कार जित्न सफल बन्नुभयो ।
प्रतियोगितामा पुरुषतर्फ ४० र महिलातर्फ १६ जनाको सहभागिता थियो । पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमश: ३०, २० र १० हजार तथा महिलातर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमश: १५, १० र पाँच हजार रुपियाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।
फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीदेखि सुरु गरिएको म्याराथन, क्याम्पसमोड–जोरसाल, पल्लोटारबसपार्क, शनिबारे, जिल्ला प्रहरी कार्यालय र वेलफेयर डॉडा हुँदै गडी मन्दिरमै पुगेर सकिएको थियो ।
विजेतालाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतले पुरस्कार प्रदान गर्नुभयो । किरात समुदायको महान पर्व उधौलीको अवसर पारेर फिदिममा मिनि म्याराथन आयोजना गरिँदै आएको छ ।