• १२ पुस २०८२, शनिबार

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ

blog

काठमाडौँ, पुस १२ गते । लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

तामाङ लागुऔषध मुद्दामा दोषी ठहर भई गत भदौ ५ गतेदेखि कारागार कार्यालय सिन्धुलीमा कैद भुक्तान गरिरहेका थिए । तर, गत भदौ २४ गते सिन्धुलीमा भएको प्रदर्शनका क्रममा उहाँ कारागारबाट फरार भएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका तामाङ कारागारबाट भागी फरार भएका थिए । पछिल्लो समय उनले पुनः लागुऔषधको बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास तीव्र पारिएको थियो । सोही क्रममा चन्द्रागिरि नगरपालिका–१०, बलम्बु क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो ।”

प्रहरीले तामाङको साथबाट ठूलो मात्रामा लागुऔषधजन्य ‘इन्जेक्सन’समेत बरामद गरेको जनाएको छ । बरामद लागुऔषधमा डाइजोपाम इन्जेक्सन १५ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८ थान तथा बुप्रेनोर्फिन इन्जेक्सन १७ थान रहेका छन् । 

प्रहरीका अनुसार तामाङ यसअघि पनि पटक-पटक लागुऔषधसम्बन्धी अपराधमा संलग्न रहेका थिए । उहाँविरुद्ध २०७८ साउन २९ गते प्रहरी वृत्त थानकोटमा लागुऔषध मुद्दा दर्ता भएको थियो भने २०८२ असार १३ गते प्रहरी कार्यालय सिन्धुलीमा पनि लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको अभिलेखमा उल्लेख छ । 

यसका साथै, गच भदौ २४ को प्रदर्शनका क्रममा कारागारबाट भागी फरार भएको विषयमा समेत छुट्टै मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । लागुऔषधको अवैध कारोबार समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।

प्रहरी उपरीक्षक आचार्यले लागुऔषध नियन्त्रणका लागि नियमित निगरानी, सूचनाको आदानप्रदान र कडाइका साथ कारबाही जारी रहने बताउनुभयो ।रासस