• ११ असोज २०८१, शुक्रबार

एन्फा महिला लिग : वालिङ सुपर लिगमा प्रवेश

blog

वालिङ महिला टोली । तस्बिर : एन्फा

काठमाडौँ, असोज १० गते । वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हरायो ।

वालिङको जितमा सुक्रिया मियाले पाँचौँ र ज्याकलिन नसालीले ३६औँ मिनेटमा गोल गर्नुभयो । चन्द्रपुरका लागि सुनिता सुनारले ५०औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै लिगमा नौ खेल सकेको वालिङ १५ अङ्क जोड्दै चौथो स्थानमा छ ।

हारसँगै समान खेलबाट आठ अङ्क बनाएको चन्द्रपुर आठौँ स्थानमा रहँदै सुपर लिगबाट बाहिरिएको छ । यसैगरी बिहीबार नै भएको अर्को खेलमा सुदूरपश्चिममाथि जित निकाल्दै कोशी प्रदेशले पनि सुपर लिगमा स्थान बनाइको छ । एन्फा मैदानमा भएको खेलमा कोशीले सुदूरपश्चिमलाई ४–० गोलले हरायो ।

कोशीको जितमा समीक्षा मगरले दुई गोल गर्नुभयो । ममता राउत र खुस्मा राईले एक एक गोल थप्नुभयो । जितसँगै नौ खेलबाट १४ अङ्क बनाएको कोशी पानँचौँ स्थानमा छ । सबै खेलमा हार खेपेको सुदूरपश्चिम अङ्कबिहीन बन्दै अन्तिमा रह्यो ।

कोशीको जितसँगै सुपर लिगमा पुग्ने पाँच वटै टोलीको टुङ्गो लागेको छ । जसमा कोशीसँगै एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका रहेको छ । नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।