• ४ कात्तिक २०८१, आइतबार

तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा

blog

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंह ।

काठमाडौँ, असोज १० गते । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

मौसम विज्ञान विभागले आगामी तीन दिन (शुक्रबार, शनिबार र आइतबार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वर्षाको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरूको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरूलाई आगामी तीन दिन उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शुक्रबार, शनिबार र आइतबार देशव्यापी रूपमा मध्यम तथा भारी वर्षाको सम्भावना र त्यसले केही जिल्लाहरूमा उच्च सतर्कतामा बस्नुपर्ने अथवा मानवीय र भौतिक क्षतिको जुन प्रक्षेपण गरेको छ, त्यसलाई मध्यनजर गरेर हामीले देशव्यापी रूपमा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू लगायत जिल्लास्थित गण, गुल्म तहका कार्यालयहरूमा रहेका विपद् फोकल पर्सनहरुलाई हामीले यो सम्बन्धी जानकारी दिइसकेका छौँ । परिपत्रमार्फत पनि गरेका छौँ ।’’

उहाँले सशस्त्र प्रहरीका सबै युनिटहरू स्रोत, साधनसहित उच्च सतर्कताका साथ बसिरहेको जानकारी दिनुभयो । उहाँले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यसैगरी बाढी, पहिरो र डुबानबाट विस्थापित हुनेहरूका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरूलाई पनि तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । उहाँले सबै जिल्लाहरूमा आवश्यक उपकरणहरूसहित बन्दोबस्त गरिएको बताउनुभयो ।

‘‘सञ्चारमाध्यमबाट पनि सतर्क गराइसकेका छौँ । आफ्नो उपलब्ध स्रोत, साधनसहित उनीहरू यो कुरामा सचेत छन् । आफूले गर्नुपर्ने पूर्वतयारीमा स्रोत, साधनसहित तयारी अवस्थामा बसेका छन् । यसको लागि हामीसँग भएका १३ वटा हेभी इक्युपमेण्टलाई पनि तयारी अवस्थामा राखिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘मान्छेहरू बाढी, पहिरो, डुबानका घटनाले विस्थापित भए भने अस्थायी रूपमा क्याम्प खडा गरेर तिनीहरूलाई राख्न सकिने सिस्टम अन्तर्गत २८ वटा कन्टेनरलाई तयारी हालतमा राखेका छौँ । अन्य आवश्यक उपकरणहरूलाई पनि हामीले विभिन्न जिल्लाहरूमा तयारी अवस्थामा राखिराखेका छौँ ।’’

उहाँले सशस्त्र प्रहरी बल नेपाल मनसुन सुरु हुनु अघिदेखि नै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले विपद्का लागि माथिल्लो तहदेखि तल्लो तहसम्मको सशस्त्र प्रहरी बलका युनिटमा जनशक्ति साधन, स्रोतसहित रहने स्पष्ट पार्नुभयो । उहाँले मनसुनलाई केन्द्रित गरेर ११० जना तालिमप्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी दिनुभयो ।

त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरी ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु र्‍याफ्टलाई तयारी अवस्था राखिएको बताउनुभयो ।

‘‘देशभरमा रहेका इकाईहरूमा स्ट्याण्डबाई रूपमा बाहिनी मुख्यालय, शिक्षालयहरू र गण तहको कार्यालयहरूमा सिनियर अधिकृतको कमान्डमा एक प्लाटुन जनशक्ति स्ट्याण्डबाइ रहन्छ । तुरुन्तै र २४ सै घण्टा परिचालन हुने हिसाबमा बसेको हुन्छ । त्यो भन्दा तल्लो इकाई बिओपी इकाईसम्म उपलब्ध स्रोत, साधनसहित स्ट्याण्डबाइ रहने व्यवस्था गरिएको छ ।,’’ सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो, ‘‘मनसुनलाई मध्यनजर गरेर देशभरको इकाईमा ११० जना गोताखोर तालिमप्राप्त जनशक्तिलाई दश स्थानमा केन्द्रित गरेर राखेका छौँ । सबै प्रदेशमा छ । डुबान र बाढीलाई मध्यनजर गरेर ३९ वटा जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु र्‍याफ्टलाई स्ट्याण्डबाई राखिराखेका छौँ । यो मनसुन अवधि भरका लागि स्ट्याण्डबाई रहने व्यवस्था हो ।’’

विपद् व्यवस्थापनका लागि सबै निकायहरूको उत्तिकै भूमिका हुने भन्दै सिंहले त्यसको लागि सशस्त्र प्रहरीले आवश्यक सबै निकायहरूसँग समन्वय गर्ने बताउनुभयो । सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उहाँको भनाई छ ।

सशस्त्र प्रहरी बल नेपालले आगामी तीन दिन अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउनका लागि आग्रह समेत गरिएको छ । जानकारी पाउनासाथ सशस्त्र प्रहरी सो स्थानमा उद्धारका लागि पुग्ने सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।