उमेरले ४० को खुड्किलो उक्लिएपछि साँच्चै विभिन्न रोगले छुने रहेछ मानिसलाई । त्यसैले होला बालकृष्ण समले पनि ‘मुकुन्द इन्दिरा’ नाटकको एक महत्वपूर्ण पात्र भवदेवको मुखबाट ‘दियो उमेरमा धक्का अब ४० ले पनि’ भन्न लगाएर यस्तै अत्यासको भाव व्यक्त गरेका छन् । हामी जोइपोइको उमेर त झन् ४० माथि पनि १० नाघिसकेको थियो । श्रीमान् जङ्गबहादुर राईको स्वास्थ्यमा निकै पहिलेदेखि नै केही न केही समस्या देखिइरहेकै थियो । दुई महिनाअघि नुहाउने बेला पानीको बाल्टिन उठाउँदा चसक्क ढाड दुखेको थियो । बिस्तारै कम्मरतिर सर्दै गएछ । दुखाइले साह्रै हैरान पारेकाले नजिकैको जिल्ला अस्पताल सिन्धुलीमा जँचाउनुभयो । यहाँको औषधीले नछोएपछि धुलिखेलमा अस्पतालमा गएर जाँच गरायौँ । त्यहाँको केही औषधी र थेरापीले पनि २० को १९ मात्रै भएको थियो । अहिले दुई दिनदेखि दुखाइ कम्मर, तिघ्रा हुँदै पिँडुलातिर सर्दै गएर रातभर सुत्न नसकेपछि रातभर बाहिरभित्र गरिरहनुभयो । त्यसैले बिहान छिमेकीको भालेको डाकसँगै जुरुक्क उठ्यौँ र तुरुन्तै काठमाडौँ जाने सल्लाह ग¥यौँ । केही लुगाफाटो मिलाएर छ्याङ्ङ उज्यालो भएपछि मैले पुलुक्क हेरेँ गढीतिर । तुँवालोको खराने कछाड र हुस्सुको सेतो फेटा बाँधेर ठिङ्ग उभिएको थियो गढीडाँडा ।
बिरामी मान्छे कसरी जाने होला ? गाडी बुझ्दा ११ बजे मात्रै जाने जानकारी पाइयो । हामीलाई कहिले काठमाडौँ पुगेर डाक्टर भेट्नु जस्तै भएको थियो । बिस्तारै स्कुटीमा लाग्यौँ दुवै जना । त्यो दिन थियो २०८० वैशाख १६ गते ।
भकुन्डेबेँसी पुग्दा ११:४० भएको थियो, त्यसैबेला सिमसिम पानी पर्न सुरु ग¥यो । बाटोभरि गाडी जाम भएको देखेर मैले ओर्लेर प्रहरीसँग सोधेँ । अगाडि दुर्घटना भएर बाटो अवरुद्ध भएको र खुल्ने अझै टुङ्गो नभएको जानकारी पाएपछि हामी सोधखोज गर्दै केही गाडीको पछि पछि दाप्चाको उकालो लाग्यौँ । कहिल्यै नहिँडेको बाटो, कतै कतै ग्राभेल गरिएको र धेरै जसो हिलो र चिप्लो सडक, सकेसम्म छिटो पुगेर जँचाउने इच्छा । यी सबैले एकैसाथ च्यापेपछि मनमा बेचैनी पैदा हुनु स्वाभाविक थियो । उकालोमा स्कुटर तातेर अगाडि बढ्नै सकेन । बाटो तर्पयाँ तर्पयाँ भएकाले दुई कोस जति माथि पुगेपछि झन् गुड्नै छोड्यो स्कुटर ।
म बारम्बार झर्दै, अघि अघि हिँड्दै फेरि अलि तर्पयाँ बाटो आएपछि चढ्दै गर्थें । हुँदा हुँदा बाटो ठाडो उकालो र चिप्लो पनि आइपुग्यो । पछाडिबाट ठेल्दै, झोला पनि आफैँले बोक्दै र त्यो सिमसिमे पानीमा पनि खलखली पसिना काढ्दै हिँड्नुपर्दा तरक्क आँसु नै झ¥यो तर फेरि रोएरै के गर्नु ! मैले नै हरेस खाएँ भने उहाँ त झनै गोडा दुखेको उपचार गराउन राजधानी जान लागेका बिरामी मान्छे ! त्यसैले केवल उहाँकै निम्ति म सकेसम्म पैदल नै हिँड्दै उहाँभन्दा अगाडि पुग्थेँ रुझ्दै, भिज्दै र अगाडि भेटिएका बटुवासँग बाटो सोध्दै । यसरी उहाँको अगाडि तन्दुरुस्त भइटोपलेकी थिएँ । कहिल्यै उकालो सकिने छाँट छैन । वारिपारि डाँडाकाँडा वनजङ्गल कतै कतै एक÷दुई घर भेटिन्छन् । बारीका ससाना गराहरूमा भर्खरै मकै उम्रन लागेका छन् । यो पानी यिनीहरूका लागि अमृत समान भएको छ । हामीलाई मात्रै विष । आफू निरोगी भएर घुम्न जान पाएको भए कति रमणीय थियो त्यो ठाउँ तर मनभित्र चर्को पीडा भएपछि वातावरण पनि नीरस हुने नै रहेछ । चरीबरीको चिरबिर पनि सुन्न पाइएन न त हिमाल हाँसेको नै देख्न पाइयो । प्रकृति पनि पिलपिल गरेर रोइरहेको भान हुन्थ्यो । उहाँ आफ्नो बलले स्कुटर रोक्दै चलाउँदै गरिरहनुभएको थियो । बल्लतल्ल नमोबुद्ध जाने पक्की बाटो भेट्न लाग्दा फेरि बेतोडले पानी दर्कन थाल्यो बर्खेझरी जस्तै गरी ।
घरमा भएको भए तातोमा बस्न हुन्थ्यो, तातोपानी खान हुन्थ्यो तर यो अन्जान बाटो प्रायः सुनसान ठाउँ । न कतै होटेल छन् न ओत लाग्ने ठाउँ नै छ । अन्योलैअन्योलमा हामी निकै माथि पुग्यौँ । लेकाली वनमारा र धुस्र्यौलीका झ्याम्म पोथ्राहरू बाटोछेउमा बग्रेल्ती देखा पर्दै थिए । पानी बेस्सरी दक्र्यो । अलि माथि पुगेपछि दुई/तीन वटा घर देखिए । ओत लाग्न एउटा दलानमा छि¥यौँ । त्यहाँ हँसिला अनुहारका घरपेटीलाई सोधेँ मैले, “नमोबुद्ध निस्किन अब कति समय लाग्छ होला ? हामी त पहिलो पटक यो बाटो आएका !”
“चाँडै पक्की बाटो भेट्नुहुन्छ नआत्तिनुस् ।” उहाँको जवाफले मिठो आशा जगाइदियो र फेरि सोधेँ, “तपाईं शिक्षक हुनुहुन्छ ?”
उहाँले मुस्कुराएर भन्नुभयो, “हो, कसरी चिन्नुभयो ?”
“तपाईंको बोलचालीमा शिक्षकको लवज झल्किरहेकाले सोधेकी हुँ ।”
पानी केही बिदा भयो । प्रकृति हँसिलो भएपछि हामी पनि खुसी हुँदै उकालो बाटो लाग्यौँ । पारिबाट हिमालले पनि हाँसेर बिदाइ गरे जस्तो लाग्यो । आजको कष्ट सकिए जस्तो छ । मैले सन्तोष व्यक्त गरेँ । उहाँले खुइय ! गर्नुभयो । एकैछिन बाटोछेउको ढुङ्गामा थचक्क बस्यौँ । बाटो पनि छक्क परेर हेरिरहेको थियो हामीलाई । हामीले जुत्ताचप्पलको हिलो धुस्र्यौलीको पातले पुछपाछ ग¥यौँ र फेरि बाटो लाग्यौँ । भोक पनि लागिसकेको थियो । कतै बसेर चिया खानेसम्म ठाउँ थिएन । केहीबेरपछि नै पक्की बाटो भेटियो । हामी खुसी भएर गुड्यौँ तर हाम्रो खुसी एकैछिन पनि टिक्न नपाउँदै बाटो नै टुङ्गियो । लौ जा, अब के गर्ने ? फेरि फर्केर सोधखोज ग¥यौँ । बाटो त भर्खर बन्न लागेको मात्रै रहेछ । ओरालो झर्नु पर्छ भन्ने जवाफ पाएपछि ओरालिन थाल्यौँ । त्यो ओरालो त अघि उकालिएकोभन्दा पनि डरलाग्दो पो रहेछ । कमेरे खालको चिपचिपे माटो, त्यसमा पनि तिखा र चिप्ला ढुङ्गा । स्कुटरको पाङ्ग्रा कहिले खाल्टाखुल्टीमा फस्थे त कहिले चिप्लन्थे । हाम्रो दुर्दशालाई तिनै तिखा र चिप्ला ढुङ्गाले नै सघाइरहेका थिए । हाम्रापछाडि बस र सुमो आइरहेका थिए । बसलाई बाटो छोडौँ भने अजङ्गको पाँगोले झन् अप्ठ्यारो बनाइदेला भन्ने डरले म एक घुम्तीमाथि नै ओर्लिएँ । पछाडि हेर्दा बसले सोझै आएर किच्ला जस्तै लाग्ने ठाडो ओरालोमा ब्रेक लाउन पनि हम्मे हम्मे परेर गाडी नै ढलपल गरिरहेको थियो । म डरले मुटु कमाउँदै अघि अघि आफ्नो स्कुटरलाई बाटो देखाउँदै र पछाडि आएका गाडीलाई हातको इसाराले पख्नुहोस् भनेर रोक्दै हिँड्न लागेँ ।
हेर्नलायक थियो त्यो दृश्य । गाडीमा रहेका यात्रु हँस्यौली गर्दै थिए । गाडीभित्रबाट एउटा पुरुष आवाज मेरो कानसम्म ठोक्किएर फर्कियो । “स्कुटरमा पनि खलासी,” म पनि झ्यालतर्फ हेरेर खिस्स हाँसिदिएँ, मनभरिको दर्दलाई छोपेर । निकैबेर चिप्लो र हिलाम्मे बाटोसँगको पौँठेजोरीपछि हामी बल्लतल्ल नमोबुद्ध निस्कियौँ ।
एकान्त जङ्गल, घारी नै घारीको बाटो । बोधिसत्वले आफ्नो शरीर पाँच वटा डमरुकी आमा, भोकाएकी बघिनीलाई सुम्पेको स्थान । एउटी भोकी अशक्त र सुत्केरी आमा, आफ्नै सन्तानलाई खाएर भोक मेट्न खोज्ने संसारकै एक विवश आमालाई त्यो अक्षम्य अपराधी हुनबाट जोगाउने अत्यन्तै भावनाशील र कोमल हृदयले सम्पन्न बोधिसìवलाई सम्झँदा उनीप्रति भावुकताको पल्लो फालमा पुगेर नतमस्तक भएँ म ।
२०७९ साउन २४ गते पनि मेरो पित्तथैलीको पत्थरी निकाल्न हामी दम्पती नै काठमाडौँ जाँदा काभ्रेभन्ज्याङ पुगेपछि अचानक मैले ‘नमोबुद्ध जाने’ प्रस्ताव राखेकी थिएँ । श्रीमान्ले खुसीसाथ स्वीकार गर्नुभएको थियो र हामी बाटो सोधखोज गर्दै यहाँ आइपुगेका थियौँ पहिलो पटक ।
शान्त वातावरणमा हामीले यहाँको बौद्ध गुम्बा परिक्रमा गरेका थियौँ, दीप प्रज्वलन गरेका थियौँ र छेउमै रहेको गुफाको पनि अवलोकन ग¥यौँ । त्यहाँ स्थापित उही निरीह, भोकी, सुत्केरी बघिनी र उसका पाँच वटा डमरुको प्रतिमा हेरेर र तिनीहरू कथा थाहा पाएर अत्यन्तै भावुक भएकी थिएँ म, कठै ! समयको पाङ्ग्रो घुमेर आफू आज फेरि यही ठाउँमा आइपुग्दा नौ महिनाअघिका ती सारा कुराको झलक्क सम्झना भयोे मलाई ।
केहीबेर स्कुटर रोकेर त्यस पवित्र स्थानको माटो शिरमा स्पर्श गराउने रहरलाई भित्रै दबाएर मनैमनले प्रणाम गरेँ मैले । फेरि कुनै दिन लुटुपुटिन आउने प्रण गर्दै अब हामी पक्की बाटोमा सरर गुड्यौँ । पनौती पुग्दा दिउँसोको २ बजेको थियो ।
“१२ बर्से मेला लाग्ने ठाउँ कतातिर होला यहाँ ?” हामीले बिस्तारै स्कुटर रोक्यौँ र एक जना स्थानीय बुढाबालाई सोध्यौँ । एक हातले लौरो समाएर अर्को हातले टोपीलाई माथितिर तान्दै बाले मेला लाग्ने ठाउँ देखाइदिनुभयो । १२ बर्से मकर मेला भन्ने त मैले सुनेकी थिएँ तर कुन देवताको पूजा हुन्छ थाहा थिएन त्यसैले मैले जिज्ञासा राखेँ, “वासुकी नाग र इन्दे्रश्वर महादेवको पूजा हुन्छ नानी !” बाको जवाफ थियो ।
उनै वासुकी नाग र इन्द्रेश्वर महादेवलाई परैबाट नमन गरी अगाडि बढ्यौँ । पहिलो पटक यो नयाँ ठाउँमा आइपुगेका थियौँ हामी । यदि जँचाउन चाँडै पुग्नु नपरेको भए घुम्दै बिस्तारै साँझमा मात्रै काठमाडौँ पुग्ने गरी जाने थियौँ ।
बनेपा निस्कँदा त बाटो सुनसान । धन्न, यताबाट आइएछ र मात्रै नत्र काभ्रेभन्ज्याङ निस्कन अरू तीन घण्टा जाममा बस्नुपर्ने रहेछ । भक्तपुर दिदीकहाँ पुग्दा दिउँसो ४ बजिसकेको थियो । चाउचाउ उमालेर हतार हतार खायौँ अनि ट्याक्सी बोलाएर सिधै जावलाखेल पुग्यौँ । एमआरआई गराउन निकैबेर पर्खनु प¥यो । रिपोर्ट लिन भोलिपल्ट आउनुपर्ने जानकारी पाएपछि हामी बास बस्नका लागि फेरि दिदीको घर भक्तपुर फर्कियौँ ।