धीरेन्द्रप्रसाद साह
राजविराज, पुस ११ गते । ऋणको जोखिम, कमजोर पूर्वाधार र सीमित स्रोतबिच पनि उद्यम सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ सप्तरीको रुपनी गाउँपालिका–६ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित कान्तिपुर प्लाष्टिक उद्योग । एक सेडमा सञ्चालित यो उद्योग छोटो अवधिमै उल्लेखनीय प्रगति गर्दै वार्षिक एक करोड रुपियाँभन्दा बढी आम्दानी गर्ने सम्भावनासहित स्थानीय उत्पादन र रोजगारीको आशा जगाएको छ ।
सप्तरीको राजविराज नगरपालिका–१६ निवासी ऊर्जावान र सङ्घर्षशील उद्यमी रमेश यादव भनिने छत्रनारायण यादव र जितेन्द्रप्रसाद यादवले संयुक्त रूपमा ऋण काढेर उद्योग सञ्चालन गरिरहेका छन् । गार्डेन पाइप उत्पादन गर्ने उद्देश्यले २०७७ साल मङ्सिर १० स्थापना गरिएको यो उद्योग बिक्री भयो । २०८१ साल मङ्सिर २६ गते ६० लाख रुपियाँमा चालु अवस्थामै उहाँहरुले उद्योग खरिद गरी व्यवस्थापन सम्हालेपछि उत्पादन, बजार र आम्दानी तीनै क्षेत्रमा उल्लेखनीय सुधार आएको हो ।
उद्योगबाट दैनिक करिब एक टन गार्डेन पाइप उत्पादन हुँदै आएको छ । यस हिसाबले वार्षिक तीन सय टन उत्पादन गरिने अनुमान गरिएको छ । प्रतिकिलो १२० रुपियाँका दरले थोक बिक्री गर्दा दैनिक करिब एक लाख २० हजार रुपियाँ बराबरको कारोबार हुने गरेको उद्योगी बताउछन । यस हिसाबले वार्षिक चार करोड ३२ लाखको कारोबार हुने अनुमान गरिएको छ । भवन तथा जग्गा भाडा, मजदुरी, ढुवानी, कच्चा पदार्थको लागत, ऋणको ब्याज, मेसिन म्यान तथा कर्मचारी खर्च कट्टा गरेपछि पनि औसतमा करिब ३० प्रतिशत नाफा बच्ने गरेको सञ्चालकहरूको भनाइ छ । यही प्रवृत्ति कायम रहे उद्योगको वार्षिक आम्दानी एक करोड रुपियाँ नाघ्ने अनुमान गरिएको छ । उद्योग किनेको एक वर्ष भयो तर व्यवस्थापन गरेर राम्ररी सञ्चालनमा आएको नौ-दश महिना मात्र भएको उहाँहरु बताउँछन् ।
उद्योगको बजार विस्तार पनि तीव्र गतिमा भइरहेको छ । सुरुमा सप्तरीमै सीमित रहेको उत्पादन अहिले उदयपुरसम्म पुगिसकेको छ । उद्योगले प्रत्यक्ष रूपमा मेसिन म्यान, प्याकिङ कर्मचारी र श्रमिक गरी आठ जनालाई रोजगारी दिएको छ, जसले स्थानीय रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको छ । तर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ स्थानीय रूपमा उपलब्ध नहुँदा विराटनगर र काठमाडौंसम्म निर्भर रहनु पर्ने बाध्यताले लागत बढाइरहेको छ ।
४।६७ रोपनी क्षेत्रफल ओगटेको उद्योगका लागि वार्षिक सेड भाडा ८८ हजार आठ सय रुपियाँ र जग्गा भाडा ९६ हजार रुपियाँ तिर्नुपर्ने अवस्था छ । यद्यपि, औद्योगिक क्षेत्रभित्रको कमजोर पूर्वाधार उद्योग सञ्चालनका लागि प्रमुख चुनौती बनेको छ । उद्योग र खानेपानीको छुट्टाछुट्टै व्यवस्था नहुनु, ढल निकासको व्यवस्थित प्रणाली नहुनु र आधारभूत सेवा अपुरो हुनु दीर्घकालीन जोखिमका रूपमा देखिएका छन् ।
भौगोलिक अवस्था, स्थान र सम्भावनामा स्पष्ट भिन्नता हुँदाहुँदै पनि औद्योगिक क्षेत्रभित्र एकनासको जग्गा भाडा दर कायम गरिनु उद्यमीहरूका लागि अर्को मार बनेको छ । “उत्साह र आँटका साथ उद्योग खोल्छु, तर राज्य वा सम्बन्धित निकायबाट कुनै ठोस सहयोग पाउँदिन,” सञ्चालक रमेश यादव भन्छन्, “कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ, यहाँ आउने मजदुरहरू पनि धेरैजसो अदक्ष मात्र हुन्छन्, जसले उत्पादन लागत र गुणस्तर दुवैमा असर गर्छ ।”
यस विषयमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका कामु प्रमुख मनिषकुमार मिश्रले औद्योगिक क्षेत्रमा खानेपानी र ढल निकासको समस्या रहेको स्वीकार गर्दै समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित निकायसँग समन्वय गरी आधारभूत पूर्वाधार सुधार गर्ने प्रक्रिया अघि बढाइएको छ ।
नेपाल र भारत सरकारको सहयोगमा निकै आशा भरोसा साथ ४० वर्ष अघि २०४४ मङ्सिर २७ गते स्थापित गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा उद्योगको लागि १० वटा सेडहरु निर्माण गरिएको छ । तीमध्ये एउटा सेडमा कान्तिपुर प्लाष्टिक उद्योग सञ्चालन भएको छ ।
कान्तिपुर प्लाष्टिक उद्योगको प्रगति नेपालमा औद्योगिक विकासका सम्भावना र चुनौती दुवैको प्रतिनिधि चित्र हो । पर्याप्त पूर्वाधार, नीतिगत सहुलियत, कच्चा पदार्थको सहज आपूर्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउन सके यस्ता उद्योगहरूले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने दिशामा निर्णायक भूमिका खेल्न सक्छन् ।