• ११ असोज २०८१, शुक्रबार

एन्फा महिला लिग : कर्णालीमाथि पुलिसको सहज जित

blog

नेपाल पुलिस टोली ।

काठमाडौँ, असोज ९ गते । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कर्णालीलाई ३–० गोलले हरायो । 

एकपक्षीय खेलमा पुलिसको जितमा निर्मला उपाध्यायले ४३औँ, मनीषा राउतले ५४औँ र सम्झना लावतीले ८२औँ मिनेटमा गोल गर्नुभयो । 

जितसँगै पुलिस तेस्रो स्थानमा छ । पुलिसले आठ खेलबाट १८ अङ्क बनाएको छ । पराजित कर्णाली चार अङ्कसहित नवौँ स्थानमा छ । 

शीर्षस्थानमा रहेको एपिएफ क्लबको २२ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अङ्क छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।