• ११ असोज २०८१, शुक्रबार

भैरवनाथ मन्दिरमा चढाइन्छ हजारौं रोटी

blog

भैरवनाथको मन्दिरमा चढाउन बनाइएको रोटी । तस्बिर : विन्दु थापा निहारिका

विन्दु थापा निहारिका

पाल्पा, असोज ९ गते । पाल्पा–पाल्पाको सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटरको दूरीमा अवस्थित छ, भैरवनाथको मन्दिर । यस मन्दिर  रिब्दिकोट गाउँपालिकाको पर्यटकिय र धार्मिक दृष्टिकोणले समेत प्रख्यात छ । रिब्दीकोट गाउँपालिका–१ मा रहेको भैरव मन्दिरमा स्वदेश तथा विदेशबाट भक्तजनहरु दर्शन पूजा गर्न पुग्ने गर्दछन् । जसले गर्दा रिब्दिकोट गाउँपालिका धेरैले चिन्ने गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको सो मन्दिरमा वर्षेनी १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् भने मन्दिरले प्रतिवर्ष भेटीबाट मात्रै करीब एक करोड ५० लाख बराबर आम्दानी गर्ने गरेको भैरवस्थान व्यवस्थापन समितिका व्यवस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।  

किन आउँछन् भक्तजन ?

भैरवको मन्दिरमा त्रिशुल तथा रोटी चढाइन्छ । खासगरी वैशाख, दसैँ र  मङ्सिरमा उल्लेख्य दर्शनार्थीहरु आउने गरेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । वि.सं.१४६५ मा पाल्पाका राजा मुकुन्द शेनले भैरवस्थलमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । यो मन्दिरमा सबैभन्दा ठूलो सुनको त्रिशूल समेत रहेको छ । पाल्पा गौंडाको प्रमुख खड्ग शमशेर राणाले आफ्नी श्रीमतीको इच्छा अनुसार यो मन्दिरमा सुनको ठूलो त्रिशूल राखिएको पोखरेलको भनाइ छ ।

एकपाथी र मानाको चढाइन्छ हजारौं रोट

भैरव मन्दिरको मुख्य विशेषतामध्ये यहाँ चढाइने रोट पनि हो । एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट चढाइने गरेको छ । पिठोमा नरिवल, किसमिस, छोकडा, ल्वाङ, सुकुमेल जस्ता मसालाहरु मिसाएर घिउमा पकाउने गरिन्छ । यसरी बनाएको रोट बटुक भैरव तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने दर्शनार्थीहरुले आफ्ना इच्छा अनुसारका पनि रोटी बनाउन लगाउने गरेका छन् ।

मन्दिरको आसपासमा स्थानीयहरुले यस्ता रोट पकाउने पसल नै खोलेर जिविकोपार्जन समेत गर्दै आइरहेका छन् । मन्दिरसम्म यहाँका रोट बनाउने पसललाई रोट घर भन्ने गरिएको छ । रोट व्यवसायीहरुले एक माना चामलको पिठोबाट बनेको रोटको २ सय रुपियाँ लिने गरेका छन् भने १ पाथी पिठोबाट बनेको रोटको २७ सय रुपिया लिने गरेका छन् । यहाँ दर्शन गर्न पुग्ने भक्तजनहरुले आफूले गरेको भाकल पूरा भएपछि सोही अनुसारको रोट चढाउन आउने गरेका छन् ।

मन्दिर पुग्न मुल सडकबाट दुई सय ५० सिँढी चढ्नुपर्छ । सिँढीको आसपासमा रोट बनाउने घर तथा फूल प्रसाद बिक्री गर्ने पसलहरु रहेका छन् भने सुन्दर बगैंचा, बच्चालाई राख्नका लागि बाल उद्यान छ । यहाँ बच्चाहरु लिएर जाने अभिभावकले आनन्द लिने गर्दछन् । 

जसले बेच्छन् चार सय वटासम्म रोट

पाल्पाको रिब्दीकोट गाँउपालिका भैरवस्थानका बिमला प्रधानको परिवारमा सात जनाको परिवारले भैरव मन्दिरमा पूजा गर्नका लागि चढाइने रोट बनाउने गरेको छ । उहाँको पसलमा एकै पटकमा धेरै रोट पकाउन मिल्ने चुल्हो रहेको छ । बिमला र उहाँको परिवारलाई सिजनको बेलामा रोट पकाउन भ्याइ–नभ्याई हुने गरेको छ । दसैँ, मङ्सिर र वैशाख तथा विशेष तिथिका बेला मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । साथै पसलमा रोटी किन्नेहरुको पनि भीड लाग्छ ।  ६१ सालबाट रोट पकाउन सुरु गरेको बिमलाको परिवारले सिजन नहुँदा समेत ४० रोट बेच्ने गर्नुहुन्छ । रोट पकाउन परिवार बाहेक दुई जनालाई रोजगारी समेत दिएको प्रधानले बताउनुभयो ।

सिजनअनुसार रोट बिक्री हुने गर्दछ ।  दिनमा एक सय किलोको रोटसम्म बिक्री हुने गरेको भैरवस्थान व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । दैनिक दुईदेखि चार सय वटासम्म रोट बिक्री गरेर रोट बनाउने र जिविकोपार्जन गर्ने धेरै परिवारका रोटघर भैरवस्थान मन्दिर वरपर छन् ।