• ११ असोज २०८१, शुक्रबार

बन्दै आकर्षक प्रशासनिक भवन

blog

प्रदेश राजधानीमा निर्माण भइरहेको प्रशासनिक भवन । तस्बिर : दिवाकर पोख्रेल

देउखुरी समाचारदाता

देउखुरी, असोज ९ गते । दाङको राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशका प्रशासनिक भवन हेर्दा मन लोभ्याउने छन् । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरी प्रवेश गर्ने जोकोहीलाई पनि यहाँ बन्दै गरेको प्रशासनिक केन्द्रले आकर्षित गर्छ । 

दाङको राप्ती गाउँपालिका बिजौरीका अर्जुन अधिकारीले प्रदेशका निर्माणाधीन प्रशासनिक भवन हेर्दा सङ्घीयताको विरोधमा आउने स्वरलाई दबाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यत्रो लगानी लगाएर संरचना राज्यले बनाइरहेको छ, केहीले सङ्घीयता टिक्दैन भन्छन्, यो केवल असन्तुष्टको स्वर हो, सङ्घीयता मजबुत बनाउने प्रयासस्वरूप काम भइरहेको देखिन्छ ।”  

यहाँ बन्दै गरेका प्रशासनिक भवनले धेरैलाई सङ्घीयताप्रति ढुक्कको महसुस गराउने गरेको छ । यी भवनबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज अघि बढ्ने छ । मन्त्रालय, विभाग, निर्देशनालय, मातहतका अन्य कार्यालयले एकै थलोबाट सेवा प्रवाह गर्ने छन् । जसले गर्दा सेवा लिन र दिन सजिलो मात्रै हुने छैन, नागरिकलाई प्रादेशिक सरकारको अनुभूति पनि दिलाउने छ । स्थानीय भरतमणि न्यौपानेले बलियो प्रदेश बनाउन प्रदेशको प्रशासनिक कामलाई चुस्त र सबैको पहुँचमा पुर्‍याउन सुविधासम्पन्न प्रशासनिक केन्द्र आवश्यक पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बनिरहेका भवनले बलियो प्रदेशको अनुभूति दिन्छ, डेढ वर्षको अवधिमा असाधारण भौतिक प्रगति भएको छ ।”

२०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको थियो । अहिले पनि यहाँ दिनरात काम भइरहेको छ । कामको गति हेर्दा निर्धारित समयअघि भवन हस्तान्तरण हुने लक्षण देखिएको छ । हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । 

अबको एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको छ । करिब १९ बिघा क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । प्रदेश सभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरूपता प्रदान गर्ने विश्वास गरिएको छ । 

एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माणको तीव्र गतिमा अगाडि बढेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “२०८२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ, अहिलेसम्म आइपुग्दा हेर्नलायक संरचना बन्दै छ ।” राप्ती उपत्यका देउखुरीस्थित प्रदेश राजधानीलाई मुलुककै उत्कृष्ट र व्यवस्थित बनाउन सरकारका प्रशासनिक भवनलाई नमुना बनाउने गरी निर्माण अगाडि बढाइएको छ । शर्मा सगन जेभी कम्पनीले भवन निर्माणको काम गरिरहेको हो ।