• ११ असोज २०८१, शुक्रबार

पुरस्कारको रकम मिर्गौलापीडित दियालीलाई

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ । वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई मङ्गलबार श्रेष्ठले सो पुरस्कारबापत प्राप्त रकम हस्तान्तरण गर्नुभयो । उक्त रकम रोटरी क्लब अफ काठमाडौँ वेस्टसँगको सहकार्यमा हस्तान्तरण गरिएको हो । 

दृष्टि साप्ताहिकका सम्पादकसमेत रहनुभएका श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ वेस्टका पे्रसिडेन्ट देशकुमार श्रेष्ठले एक लाख ८२ हजार रुपियाँको चेक पत्रकार दियालीलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो । श्रेष्ठले प्रेस काउन्सिल दिवसका अवसमा प्राप्त गर्नुभएको एक लाख रुपियाँको पुरस्कारमा रोटरी क्लब अफ काठमाडौँ वेस्टले ८२ हजार रुपियाँ थपेर दियालीलाई सहयोग गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार रुपियाँ पत्रकार दियालीलाई हस्तान्तरण गर्नुभयो । मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुनुहुन्छ । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिनाअगाडि वीर अस्पतालमा उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।