• १२ माघ २०८१, शनिबार

वनमन्त्री र भुटानका ऊर्जा मन्त्रीबीच भेटवार्ता

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी (बायाँ) र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ । तस्बिर : रासस

काठमाडौँ, असोज ८ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भुटान बीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्री ठकुरीको निजी सचिवालयले जनाएको छ । भेटमा नेपाल र भुटानको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय सम्बन्ध थप बलियो बनाउनेबारे कुराकानी भएको थियो । 

त्यस अवसरमा मन्त्री ठकुरीले उच्चस्तरीय भेटवार्ताले द्विपक्षीय र क्षेत्रीय सम्बन्ध अझ विस्तार हुने बताउनुभएको थियो । उहाँले भुटानले पछिल्लो समय जलविद्युत्, ऊर्जा, प्राकृतिक स्रोेत संरक्षण र पर्यटकीय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेकामा भुटानको प्रशंसासमेत गर्नुभएको थियो । “हामी सार्कमा आबद्ध छौँ, पर्वतीय क्षेत्रका मुद्दाबारे हाम्रो साझा अवधारणा छ । नेपाल र भुटानले पर्यापर्यटन, जलविद्युत्, पहाडी खेती र जडिबुटी क्षेत्रमा थुप्रै सहकार्यको सम्भावना छ ।”

 यसैगरी भुटानका मन्त्री छिरिङले नेपाल र भुटान जलवायु परिवर्तनका असरबाट बढी प्रभावित भएकाले जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझा मुद्दासहित प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । रासस