• ११ असोज २०८१, शुक्रबार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने पर्यटनमन्त्री पाण्डेको प्रतिबद्धता

blog

अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, असोज ८ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकारले सबै प्रयासहरू अगाडि बढाएको बताउनुभएको छ ।

सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भोलि बुधबारबाट पोखरामा सुरु हुन गइरहेको बैठकलाई सम्बोधन गर्न मंगलबार पोखरा आउनुभएका पर्यटन मन्त्री पाण्डेले नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आयोजित अगुवा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालनका लागि सरकारले कार्ययोजना समेत पास गरी यात्रु तथा विमान कम्पनीहरूलाई छुट दिने निर्णय गरिसकेकाले पनि अन्तर्राष्ट्रिय उडानहरू छिट्टै सञ्चालनमा आउँछन् ।” उहाँले भारत र चिन सरकारसँग पनि पटकपटक कुराकानी भइरहेको र विमान कम्पनीहरू पनि आउन इच्छुक रहेको बताउनुभयो ।

आइकाओले नेपाली आकाश असुरक्षित भनिरहेको वर्तमान अवस्थामा हामीले हाम्रा उडानमा गुणात्मक सुधार गरी नेपाल सुरक्षित गन्तव्य हो भन्ने प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटनमन्त्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि पर्यटन व्यवसायलाई उत्कृष्ट बनाउनुपर्ने भन्दै यसमा विमानस्थलको पनि प्रमुख भूमिका रहने जिकिर गर्नुभयो । उहाँले पर्यटनलाई रोजगारीको प्रमुख माध्यम बनाई युवाहरूलाई देशमै रोक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांंग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले कांग्रेस र एमाले मिलेर बनेको यस सरकारले हरेक क्षेत्रमा सहकार्य गरी मुलुकलाई निकास दिनुपर्नेमा विशेष जोड दिनुभयो ।  उहाँले आगामी ०८४ को निर्वाचनमा मुख्य रूपमा एमालेसँग प्रतिस्पर्धा हुने भए पनि त्यसलाई स्वच्छ प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस पार्टी भित्र भएको गुट–उपगुटको तिक्ततालाई हटाई पार्टीको सङ्गठनलाई बलियो बनाएर अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संस्कार र शिक्षामा सुधार गरेर नैतिकवान् नागरिक तयार गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारलाई चुनौतीका साथै अवसर पनि रहेकाले परिणाम देखिने गरी काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रवक्ता मधु बास्तोलाले कांग्रेस पार्टी भित्रको सङ्गठनका बारेमा बोल्नुभएको थियो ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले पोखराको रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको निरीक्षण गर्नुहुँदै सङ्ग्रहालयले पर्यटकीय राजधानी पोखरालाई व्यवस्थित बनाउनका लागि सहयोग पुर्‍याएको बताउनुभयो ।