• ११ असोज २०८१, शुक्रबार

हिरासत कक्षबाट फरार सबै थुनुवा पक्राउ

blog

हिरासतबाट फरार भएका थुनुवा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असोज ८ गते। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएका सबै जना पक्राउ परेका छन्।  सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन काटेर नौ जना थुनुवा फरार भएका थिए।  

थुनुवा कोठाबाट फरार भएका सबै जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो।  उहाँका अनुसार पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का रोशनकुमार मण्डल, सोही ठाउँका रञ्जित मण्डल,  सिरहाको सिरहा नगरपालिका १३ का अभाष्करकुमार यादव, जनकपुरधाम उपमहानलपालिका २० का अमितकुमार झा र औरही गाउँपालिका २ का विशाल मुखिया रहेका छन्।  

त्यस्तै अभद्र व्यवहार मुद्दाका अभियुक्त जनकपुरधाम ४ का बिक्की कार्की, जनकपुरधाम १ का सुमित मेस्तर, धनुषाको नगराइन नगरपालिका २ का मनिष मण्डल र महोत्तरीको जलेश्वर नगरपालिका ५ का सत्यम झा रहेका छन्।  उनीहरूलाई धनुषा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रवक्ता अवाले बताउनुभयो।  

एकसाथ नौ जना थुनुवा हिरासतबाट फरार भएपछि  घटना सम्बन्धमा अनुसन्धानका लागि  जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति बनाएको छ।  यसैगरी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।  

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता दीपक भारतीका अनुसार छानबिन समितिलाई १५ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन समय दिएको छ।  

थुनुवाहरूले फलाम काट्ने ह्याक्सो ब्लेडले हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएको प्रवक्ता भारतीले बताउनुभयो।  जिल्ला प्रहरी कार्यालय धनुषामा महिलाका लागि एकसहित तीन वटा थुनुवा कक्ष रहेका छन्।  थुनुवा कक्षको सुरक्षाका लागि पाँच जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ।