• ११ असोज २०८१, शुक्रबार

चोटका कारण स्वर्ण जित्न असहज भयो : एरिका गुरुङ

blog

चीनको हान्झाऊमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, असोज ८ गते । एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताउनुभएको छ ।

ऐतिहासिक रजत पदकसहित मङ्गलबार स्वदेश फर्किनुभएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताउनुभयो । एरिकाले आफ्नो लक्ष्य स्वर्ण नै जित्ने भए पनि विपक्षी धेरै राम्रो रहेको जिकिर गर्नुभयो ।

फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्नुहुँदै  आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाउनुभयो ।

आज त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उहाँका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई स्वागत गर्नुभएको थियो ।

नेपाल कराँते महासङ्घ, नेपाल पुलिस क्लब र विभिन्न खेलका खेलाडी नेपाली टोलीको स्वागतमा उपस्थित रहे । सो अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गर्नुभएको थियो ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताउनुभयो । प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उहाँले अझैँ धेरै सफलता दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासङ्घको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । सन् २०२६ मा हुने २० औँ एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एरिकासँगै अन्य खेलाडीले सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राखेपले सहयोग गर्ने बताएका छन् ।

एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औँ सिनियर एसियन कराँते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जित्नुभएको थियो । नेपालका कुनैपनि खेलाडीले यस अघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उहाँ पहिलो स्वर्ण जित्न भने चुक्निुभयो । यसअघि एरिका चीनकै हाङझाउमै एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुक्नुभएको थियो ।

 एरिका काठमाडौंको तारकेश्वर नगरपालिकामा रहेको एन. आर. कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । 

यो पनि पढ्नुहोस

एसिएन कराते च्याम्पियनसिपमा एरिकालाई रजत

यो पनि पढ्नुहोस

एसियाली कराते खेल्न चीन जाँदै नेपाली टोली