• ११ असोज २०८१, शुक्रबार

कृषकलाई आत्मनिर्भर बनाउन मौरी र घार वितरण

blog

कृषकलाई निशुल्क मौरी सहितको घार वितरण गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँँ, असोज ८ गते । तनहुँ जलविद्युत आयोजनाले कृषकहरूलाई मौरीपालनमार्फत् आत्मनिर्भर गराउने उद्देश्यले निःशुल्क मौरी र घार वितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजनाबाट प्रभावित बासिन्दालाई वितरण गरेको हो । 

चार दिने तालिम प्रदान गरी सहभागीलाई निःशुल्क मौरीको गोला सहितको घार वितरण गरिएको आयोजनाले जनाएको छ । ऋषिङ गाउँपालिका–८ पल्ट्याङगमा सञ्चालन गरेको चार दिने मौरीपालन र एक दिने वित्तीय साक्षरतासम्बन्धी तालिम सम्पन्न भएपछि सहभागीलाई वितरण गरिएको हो । 

आयोजना प्रभावितहरूको जीविकोपार्जन पुनर्स्थापना तथा आयआर्जन वृद्धिका लागि दिएको तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५मा जग्गा पर्ने घरपरिवारका १६ जनाको सहभागिता थियो । मौरी र घार हस्तान्तर गर्दै तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट हासिल भएका सीप र ज्ञानलाई व्यवहारिक रूपमा कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गर्नुभयो । 

प्रबन्ध–सञ्चालक श्रेष्ठले आयोजना प्रभावितहरूको आयआर्जन वृद्धि गरी जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि प्रभावितहरूको आवश्यकता बमोजिम विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिने बताउनुभयो ।  ऋषिङ गाउँपालिका–८का वडाध्यक्ष भरत कुमार श्रेष्ठले आयोजना प्रभावितहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोग गरी पल्ट्याङ्गलाई मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास गर्न वडाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

तालिमबाट हासिल भएको ज्ञान र सीपले व्यावसायिक रूपमा मौरीपालन गर्न टेवा पुग्ने बताउँदै आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजनाहरू कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो । तालिममा सहभागी गीता थापाले व्यावसायिक रूपमै मौरीपालन गरिहरेका प्रशिक्षकबाट तालिम उपलब्ध गराएकाले सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान र सीप हासिल भएको बताउनुभयो । 

तालिमपछि व्यावसायिक रूपमा मौरीपालन गर्न आत्मविश्वास बढेको उहाँले बताउनुभयो । प्रभावितहरूलाई लक्षित गरी  प्लम्विङ, इलेक्ट्रेसियन, सिलाई बुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायतका १४ वटा तालिम सञ्चालन गरिसकेको आयोजनाले जनाएको छ  । आयोजनाका अनुसार एक सय ३९ पुरुष र एक सय ५५ जना महिला गरी दुई सय ९४ जनालाई विभिन्न तालिम दिइएको छ ।