• ११ असोज २०८१, शुक्रबार

मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आर्थिक सहयोग

blog

मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आर्थिक सहयोग हस्तान्तरण ।

काठमाडौँ, असोज ८ गते । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट पुरस्कृत वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले उक्त रकम रोटरी क्लब अफ काठमाडौँ बेष्टसँगको सहकार्यमा मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ ।

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र रोटरी क्लब अफ काठमाडौँ बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले एक लाख ८२ हजारको चेक मङ्गलबार वीर अस्पतालमा पुगेर दियालीलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

जसमा श्रेष्ठले प्राप्त गरेको पुरस्कार स्वरुपएक लाख र रोटरी क्लब अफ काठमाडौँ बेष्टको ८२ हजार सहयोग समावेश छ । उक्त समारोहमा रोटरी क्लब अफ काठमाडौँ बेष्टका पदाधिकारीको उपस्थिति थियो ।

यसैगरी, करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठले जीवनभर देश, जनताका लागि इमानदारीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरु बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो कुरा होइन, त्यसैले एकजना पत्रकारलाई दुःखकष्ट पर्दा अन्य पत्रकारहरुले साथ दिनुपर्छ भन्ने भावनासहित उक्त रकम मिर्गौलापीडित पत्रकारलाई प्रदान गरिएको बताउनुभयो ।

त्यसैगरी, रोटरी क्लब अफ काठमाडौँ बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले रोटरी भनेकै सेवा गर्न जन्मिएको संस्था भएकाले मिर्गौलापीडित पत्रकार दियालीलाई उपचारमा केही सहयोग होस् भन्ने भावनाले रोटरी क्लब अफ काठमाडौँ बेष्ट पनि आजको कार्यक्रममा सहभागी भएको बताउनुभयो ।

सो अवसरमा करेन्ट मिडियाका गौतमले लोकतन्त्रका लागि आजीवन पत्रकारिताको माध्यमबाट देश र समाजका लागि योगदान पुर्‍याउने पत्रकारहरु बिरामी पर्दा राज्यले हेर्नुपर्ने बताउनुभयो । त्यसबाहेक पत्रकारसँग सम्बन्धित संघसंस्थाहरुले उपचार कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

मिर्गौलापीडित पत्रकार पिबी दियाली इटहरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक हुनुहुन्छ । दुवै मिर्गौलामा समस्या देखिएपछि केही महिना अगाडि वीर अस्पतालमा उहाँको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो । उहाँको उपचारका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिहरुले सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

उहाँको उपचारमा संलग्न वीर अस्पतालका चिकित्सक, नर्सहरुप्रति पनि रोटरी क्लब अफ काठमाडौँ बेष्टले आभार प्रकट गरेको छ ।