• ११ असोज २०८१, शुक्रबार

सवारी साधनलाई पार्किङकै समस्या

blog

सकडको छेउमै पार्किङ गरी राखिएको सवारी साधन । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असोज ८ गते ।
बाजुराको सदरमुकाम मार्तडीमा सवारी साधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत एघार वर्षदेखि पार्कको व्यवस्था नहुँदा यहाँ आउने साना ठुला सबै सवारी साधनलाई दैनिक पार्किङ गर्न समस्या हुने गरेको हो ।

मार्तडीमा बस चल्न थालेको हो झण्डै एघार वर्ष भए पनि अझै पार्कको व्यवस्था नहुँदा सवारी साधनलाई पार्किङमा समस्या हुने गरेको हो गाडी साहु रामचन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न सहरदेखि लामो दूरीका झण्डै दशभन्दा बढी बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पार्किङका लागि ठाउँ नहुँदा यहाँ आएका सवारी साधनलाई अहिले सडकको छेउछाउमा राख्नुपरेको छ ।’’

मार्तडीमा पार्क स्थापनाका लागि बस व्यवसायहरुले पटक–पटक आवाज उठाउने गरेको भए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गिरीले बताउनुभयो ।

पछिल्लो समय काठमाडौँ, नेपालगञ्जदेखि एक–एक, महेन्द्रनगरदेखि चार, धनगढीदेखि तीन र अत्तरियादेखि एक गरी दैनिक दश वटा बस मार्तडीमा पुग्ने गरेका छन् ।

मार्तडीमा पुग्ने गरेका यी सबै साना तथा ठुला सवारी साधन अहिले नेपाल टेलिकम, तुफान डाँडा र गैरी बजार सडकमा पार्किङका लागि राख्ने गरिन्छ ।

२०७० साल फागुन १४ गतेदेखि मार्तडीमा बस सेवा सुचारु भए पनि बसपार्क नहुँदा ती बस सडकको छेउमै पार्किङ हुने गरेका हुन् ।

मार्तडीको सडक साँगुरो छ । त्यसमाथि ठुलाठुला बस सडकमै राख्ने गरेकाले पैदल यात्रीलाई समस्या हुने गरेको मार्तडीका स्थानीयवासी बताउँछन् ।

काठमाडौँ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र अत्तरियादेखि बाजुरामा आउने सबै बस सडक छेउमै पार्किङका लागि राख्ने गरिएको मार्तडी गैरिबजारस्थित टिकट काउन्टर प्रमुख जीवन थापाले बताउनुभयो ।

यसरी गाडी सडकमै पार्किङ गर्दा दुर्घटना बढ्नुका साथै पैदल यात्रुलाई समेत समस्या हुने गरेको थापाले बताउनुभयो । यसैगरी, बस चालक धनबहादुर बोहराले गाडी राख्ने अन्य ठाउँ नभएकाले सडक छेउछाउमै पार्किङ गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समस्या मार्तडीमा मात्र होइन । जिल्लाको अधिकांश ठाउँमा समेत यस्तै छ । डाब, मालिका, रिठा, बेतालमाण्डौ, बाम्का, बल्देमा पनि पार्क छैनन् ।”

साँफे–मार्तडी राजमार्गअन्तर्गत बाजुराको इकटीगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि बसपार्क भने अझै बन्न सकेकाे छैन । बडिमालिका नगरपालिका –८ को पाल्तमा बसपार्क बन्न लागेको झण्डै सात वर्ष भयो । तर पनि काम सम्पन्न भएको छैन ।

सडकमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मार्तडीको टेलिकमदेखि तुफान डाँडासम्मको सडकको बिचमै गाडी पार्किङ गरेका छन् । हामीले ती गाडी हटाउन खोज्दा उनीहरुले अन्य कतै ठाउँ छैन भन्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

यता बडिमालिका नगरपालिकाले मार्तडीमा चल्ने सबै गाडीलाई सहज, व्यवस्थित, हुने गरी बसपार्क निर्माण गर्ने योजना रहेको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।