• ११ असोज २०८१, शुक्रबार

साल्टले सुरु गर्‍यो सुपथ मूल्य पसल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ८ गते । साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारबाट सुपथ मूल्य पसल सुरु गरेको छ । कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित १४ स्थानमा सुपथ मूल्य पसल सुरु गरेको हो । कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजी दुई रुपियाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गरेको जनाएको छ । 

कर्पोरेसनका अनुसार कर्पोरेसनले उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुका बिक्री केन्द्रबाट ती वस्तु छुटमा उपलब्ध गराउँदै छ । त्यसबाहेक माग आएका ठाउँमा तीन वटा मोबाइल भ्यानमार्फत पनि ती वस्तु उपलब्ध गराउने कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाबाहिरका २२ जिल्लामा रहेका बिक्री केन्द्र र विभिन्न पालिकाबाट आएका माग आधारमा पनि सेवा दिन सकिने गरी तयारी गरिएको छ ।

कर्पोरेसनका अनुसार कर्पोरेसनको सुपथ मूल्य पसलबाट प्रतिव्यक्तिले छ कजीसम्म नुन, दुई केजी चिनी र त्यही परिणाममा खानेतेल, चामल, दाल र चिउरा उपलब्ध गराइने छ । चिनी प्रतिदुई केजी २०५ रुपियाँ र नुन प्रतिकेजी २४ रुपियाँमा बिक्री गरिने कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले सञ्चालन गर्ने सुपथ मूल्य पसलका लागि सरकारले एक करोड छुट्याएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने गत बिहीबार तथा संविधान दिवसको अवसरमा पारेर सुपथ मूल्य पसल सुरु गर्दै आएको छ । 

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीको विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । 

काठमाडौँ उपत्यका चार स्थान (थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक) सहित ४२ जिल्लाका ६३ स्थानमा कम्पनीको बिक्री कक्षहरू राखिएका छन् ।