• ११ असोज २०८१, शुक्रबार

कर्मचारी सरुवामा राष्ट्रिय कर्मचारी संगठनको ध्यानाकर्षण

blog

काठमाडौँ, असोज ६ गते।  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले कर्मचारी सरुवा सम्बन्धमा ध्यानाकर्षण गराएको छ।  संगठनका अध्यक्ष अम्बादत्त भट्टद्वारा आइतबार सार्वजनिक विज्ञप्तिमा निजामती सेवा ऐनको मर्म र भावना विपरीत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न मितिको निर्णयको आधारमा मिति २०८१ भदौ ३१ मा प्रकाशित कर्मचारी सरुवा सम्बन्धी विवरणमा गम्भीर ध्यानाकर्षण गराइएको बताइएको छ। 

उहाँले नेपाल नेपालको संविधान, २०७२ ले श्रमिकको हक अधिकारको सुनिश्चित गरेको उल्लेख गर्नुहुँदै तटस्थ र स्वतन्त्र रुपमा सञ्चालन हुनुपर्ने प्रशासन संयन्त्र निर्माण गर्नुपर्नेमा राजनीतिक आस्थाको आधारमा पूर्वाग्राह राखी ट्रेड युनियन ऐन, २०४९ विपरीत ट्रेड युनियनका पदाधिकारीलाई कार्यक्षेत्र बाहिर सरुवा गरिएको बताउनुभएको छ। 

सरुवा तथा निजामती ऐन, २०४९ ले व्यवस्था गरेको समयावधि नपुग्दै र सेवा निवृत्त हुनका लागि एक वर्षभन्दा कम अवधि भएका कर्मचारीमाथि गरेको सरुवा आतंक तथा विभिन्न मन्त्रालय, विभाग, कार्यालयमा रिक्त दरबन्दी राखी कर्मचारी मनोबल गिराउने काम कानुनी शासनको प्रतिकूल रहेको विज्ञप्तिमा उल्लेख छ।