• ११ असोज २०८१, शुक्रबार

अस्करमा ‘शाम्भाला’ छनोट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । दी एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘शाम्भाला’ छनोट भएको छ । 

समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’ लाई नेपालका तर्फबाट ९७ औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिनुभएको हो । विज्ञप्तिमा भनिएको छ, यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ । चलचित्रले अस्कर अवार्डका सबै मापदण्ड पूरा गरेको छ । चलचित्रको प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण प्रस्तुति तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरी अवार्डका लागि शाम्बालालाई छनोट गरिएको छ । 

९७ औँ अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना हुँदै छ । मीनबहादुर भाम निर्देशित चलचित्र कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । 

चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्गयाल गुरुङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय रहेको छ ।