• ११ असोज २०८१, शुक्रबार

महिलाको पीडा ‘अगम’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’ । नाटकमा आशा/निराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ । जुन सामान्यतया लुकाइन्छ र बेवास्ता गरिन्छ । नाटकले दर्शकलाई एउटा आदिम समाजमा लैजान्छ, जहाँ महिलाको मूल्यमान्यता र बच्चा जन्माउने क्षमतालाई गहिरो रूपले गाज्न खोजेको देखिन्छ । 

नाटकमा एक महिलाको पीडादायी यात्रको पीडा छ, जसको जीवन बारम्बार गर्भपात र समाजको अपमानले परिवर्तन हुन्छ । एउटी महिला आमा बन्न नसकेपछि परिवार र समाजको दबाब कुन स्तरको हुन्छ र महिलाको मानसिक अवस्था कस्तो हुन्छ भन्ने कुरालाई नाटकमा देखाउन खोजिएको छ । मानसिक आवेगले कसरी एउटी महिला आपराधिक घटनातर्फ होमिन्छिन् भन्ने पाटोलाई पनि नाटकभित्र उजागर गर्न खोजिएको छ । 

महिलाको आँखाबाट भनिएको कथाले महिलाको पीडामा केही हदसम्म मलहम लगाउन सकिन्छ कि भन्ने आशाले नाटक निर्देशन गर्न होमिएको लेखक तथा निर्देशक प्रीतिशा अधिकारी बताउनुहुन्छ । यहाँ साक्षर  र शिक्षित समाज फरक छ । नाटकबाट दर्शकले बुझ्नुपर्ने कुरा के हो भने, जब महिलालाई मातृत्वसँग सम्बन्धित कुनै पनि गल्ती नगर्नुपर्ने एक उचाइमा राखिन्छ । उनीहरू वंश परम्परालाई जोगाउनुपर्ने जिम्मेवारीको मानसिक भारले थिचिन्छन्, उनीहरूलाई अपराध गर्न बाध्य पारिन्छ । यिनै कुरालाई नाटकीय स्वरूपमा एउटा महिलाभित्र लुकेको अनेकन पीडा नाटकमार्फत बाहिर ल्याउने प्रयत्न गरेकी छु ।  

नाटकमा सुषमा निरौला, उमेश सुनाम, दिपेश काफ्ले, सोनिका शाही ठकुरी, स्वर्णिम चाम्लिङ, सनम श्रेष्ठ, सुषमा, रोशन, बसु बराललगायतको अभिनय रहेको छ भने सहायक निर्देशकमा रोशन रहनुभएको छ ।