• ११ असोज २०८१, शुक्रबार

‘दर्ज्युको संलाप’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । कार्यक्रममा प्राडा अरुण गुप्ताले लेखक लामाको निबन्धले समग्र नेपाली परिवेश बोलेको बताउनुभयो । उहाँका अनुसार आफूले बोल्नभन्दा पनि लामाको लेखन कलाका विविध आयाममा लामो लेख वा पढाउँदा बयान गर्न सकिने विचार व्यक्त गर्न सकिने अवस्थामा रहेको छ ।

प्राडा विन्दु शर्माले भन्नुभयो, “लेखक लामाको निबन्धमा पहिचानको स्पर्श छ, लेखकले कथात्मक शैलीको प्रयोग गरेर जोखिम पनि उठाएका छन्, जुन हाल निबन्ध लेखनमा लेखिने शैली बनिरहेका छन् ।” उहाँले विगतमा निबन्धमा बढी दार्शनिक विषय लेखिन्थे भने हाल इतिहास तथ्याङ्कसमेत प्रयोग गरेर पाठकलाई विश्वास दिलाउने अभ्यास प्रचलित रहेकोमा लेखकले पनि त्यो धारलाई समाउने कोसिस गर्नुभएको बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले लेखक कुमारी लामाले लेखनमा महिला संवेदना र चरित्र बलशाली ढङ्गले आउने बताउँदै भुइँमान्छे, श्रमिक वर्गको यथार्थ अनूभूति आएको बताउनुभयो । उहाँले पश्चिमा साहित्यको अध्ययन गरेर हाल प्राध्यापनमा समेत संलग्न लेखक लामाले पछिल्लो कृति दज्र्युको संलापसम्म आउँदा विगतमा कानुन नै बनाएर मासिने वर्गमा राखेको तामाङको इतिहास र त्यसबाट प्रभावित वर्तमानका पात्रहरूमा रुचि देखिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

भाषाविद् एवं लेखक अमृत योञ्जनले कुमारी लामालगायतको लेखकले अगाडि बढेर भुइँमान्छेको कथालाई कृतिमा अभिलेखीकरण गर्ने कर्मको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । लामाले कृति पढेर प्रतिक्रिया दिन अनुरोध गर्दै आफ्ना समकक्षी र गुरुहरूको सल्लाह, सुझावलाई मनैदेखि स्वीकार गरेको र आगामी कृतिहरू अझै परिष्कृत रूपमा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।