• १५ माघ २०८१, मङ्गलबार

विश्वकप लिग–२ : नेपाल ओमानसँग १ विकेटले पराजित

blog

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, असोज ३ गते । नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार दोस्रो हार खेपेको छ । क्यानडाको किङ्ग सिटीमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो ।

यस सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । लगातार हारले नेपाललाई लिग–२ मा टिक्न चुनौती थपिएको छ । रोचक खेलमा गुलशन झाले पाँच विकेटसँगै अर्धसतक बनाए पनि नेपालको हार टरेन ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुईसय २० रन बनाएको थियो । दुई सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० र गुलशन झाले ५३ रनको अर्धसतकीय पारी खेल्नुभयो । रोहितको यो १०औँ अर्धसतक हो । यस्तै आरिफ शेखले ३५, सोमपाल कामीले २० तथा आशिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११ रन बनाउनुभयो ।


बलिङमा ओमानका फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले दुई दुई विकेट लिनुभयो । सोयब खान र सकिल अहमदले एक एक विकेट झार्नुभयो । ओमानको जितमा ओपनर जितेन्दर सिंहले सर्वाधिक ४१ रन बनाउनुभयो । अर्का ओपनर कश्यप प्रजापतिले ३६, अकिब इल्यासले २९, प्रतिक अथाभाले र सोयब खानले २६/२६ तथा खलिद कैल र सकिल अहमेदले १७/१७ रन बनाउनुभयो । 

बलिङमा नेपालका गुलशन झाले सर्वाधिक पाँच विकेट लिनुभयो । उहाँले १० ओभरमा दुई मेडन राख्दै ४७ रन खर्चिनु भएको थियो । करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट झार्नुभयो । गुलशन प्लेयर अफ दि म्याच हुनुभयो ।


यस जितसँगै पाँच खेलमा पाँच नै अङ्क बनाएको ओमान छटौँ स्थानमा छ । ६ खेलबाट दुई अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सको आठ खेलबाट १२ अङ्क छ । दोस्रो स्थानमा रहेको क्यानडाले  नौ खेलबाट १० अङ्क, तेस्रो स्थानमा रहेको स्कटल्यान्डको सात खेलबाट नौ अङ्क, चौथो स्थानमा रहेको अमेरिकाको ६ खेलबाट आठ अङ्क र पाँचौँ स्थानमा रहेको नामिबियाको नौ खेलबाट आठ अङ्क छ ।

चार खेल सकेको संयुक्त अरव इमिरेट्स (युएई) अङ्कबिहीन बन्दै अन्तिममा छ । क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजम  नेपाल र स्कटल्यान्ड छ ।