• ११ असोज २०८१, शुक्रबार

जम्मू-कश्मीरमा विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु

blog

भारत प्रशासित जम्मू–कश्मीरमा बुधबार सुरु विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान ।

श्रीनगर (भारत), असोज २ गते । भारत प्रशासित जम्मू–कश्मीरमा दश वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ । 

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मू–कश्मीरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।

त्यस बेलादेखि सङ्घीय रूपमा नियुक्त गभर्नरले यस क्षेत्रलाई नियन्त्रण गर्दै आएका छन् । एक दशकमा भएको पहिलो विधान सभाको निर्वाचनलाई धेरैले व्यावहारिक नीतिभन्दा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा हेरेका छन् ।

श्रीनगरको मुख्य सहर नजिकै पुल्वामामा मतदान गर्ने पहिलो मतदाता ३१ वर्षीया नाभिद पाराले भन्नुभयो “दश वर्षपछि हाम्रो आवाज सुनिने भएको छ । म मेरो आवाजको प्रतिनिधित्व गर्न चाहन्छु ।”

पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मू–कश्मीर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

मोदीले जनतालाई “भारी सङ्ख्यामा मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन” आग्रह गर्नुभएको छ । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन् ।

करिब एक दशकपछि जम्मू–कश्मीरमा तीन चरणमा हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । जम्मू–कश्मीरमा सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन् । रासस/एएफपी