• ११ असोज २०८१, शुक्रबार

कांग्रेस बाँकेले सुरु गर्‍यो चार महिने सुदृढीकरण अभियान

blog

चार महिने अभियान शुभारम्भ कार्यक्रममा सहभागि कांग्रेसका नेताहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज २ गते ।
 नेपाली कांग्रेस बाँकेले ‘चार महिने पार्टी सङ्गठन सुदृढीकरण अभियान’ सुरु गरेको छ । आगामी पुस मसान्तसम्म सञ्चालन हुनेगरी चार महिने अभियान सुरु गरिएको हो ।

“ज्येष्ठ नागरिक, महिला र युवाको योगदान: पार्टी सङ्गठन सुदृढीकरणमा बाँके अभियान” नाम दिइएको चार महिने अभियानका लागि जिल्लाका ८१ वटै वडामा जिल्ला प्रतिनिधि खटाइएको कांग्रेस बाँकेले जनाएको छ ।

अभियानको मङ्गलबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ । जिल्लामा रहेका ८१ वटा वडाहरूको साङ्गठनिक अवस्थाका बारेमा जानकारी लिँदै वडा तथा टोल स्तरमा रहेका नेपाली कांग्रेसका अगुवा, ज्येष्ठ नागरिक, महिला र युवाहरूको पहिचान गरी पार्टीप्रतिको भूमिका, सक्रियताको अवस्थालाई विश्लेषण गर्दै उनीहरूलाई पार्टी सङ्गठनलाई सुदृढीकरणमा एकताबद्ध बनाउँदै लैजाने अभियानको मुख्य उद्देश्य रहेको पार्टी सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो ।

स्थानीय तहबाट सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायस्तरमा भएका सकारात्मक प्रयास, उपलब्धि र सुधार गर्नुपर्ने विषयमा जिल्ला तहबाट नीतिगत रूपमा पहलकदमी लिने, भातृ, शुभेच्छुक सङ्गठनलाई सक्रिय बनाउने, जनताका गुनासो सुनेर समाधानका लागि पहल गर्ने लगायतका उद्देश्य यो अभियानको रहेको छ । यो अभियानको प्रस्ताव कांग्रेस बाँकेले दोस्रो जिल्ला अधिवेशनबाटै पारित गरेको प्रवक्ता डिल्ली गिरीले बताउनुभयो ।

अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सङ्गठनलाई सुदृढ बनाउँदै अझ सशक्त बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी बलियो भएमात्र प्रतिस्पर्धी दलहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै आपसी मनमुटाब, वैमनस्य र तिक्तता त्यागेर सङ्गठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । पुनले कांग्रेस बाँकेको क्रियाशीलता लोभलाग्दो भएको पनि उल्लेख गर्नुभयो । कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइरालाले चार महिने अभियानले पार्टीलाई पुनर्जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडामा खटिएका प्रतिनिधिहरूले वडा कार्यसमितिको बैठक बोलाउने, विधान अनुसार वडा कार्यसमितिको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने, विधान अनुसार सम्मेलन भए नभएको, क्रियाशील सदस्यता नवीकरणको अवस्था, कार्ड वितरण, सङ्गठनमा देखिएका समस्या, सुधार्नुपर्ने पक्ष लगायतका विषयमा जानकारी लिने बताइएको छ ।

पार्टी सभापति गौडेलले अभियानको अन्तिममा ८१ वटै वडामा एकै दिन वडा सम्मेलन गरेर अभियानको समापन गर्ने कार्ययोजना रहेको बताउनुभयो ।