• १६ असार २०८१, आइतबार

शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती

blog

पत्रकार सम्मेलनमा गणेश थापा । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २८ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष एवं विश्व फुटबल महासंघ (फिफा) द्वारा प्रतिबन्धित गणेश थापाले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विगत सात बर्षदेखि आफुमाथि लगाउँदै आएको भष्ट्राचार लगायत आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । थापाले बुधबार पत्रकार सम्मेलन गरी एन्फा अध्यक्ष शेर्पाले आफ्नो चरित्रहत्या गरेको आरोप समेत लगाउनुभयो । 

‘विना गल्ती आफुमाथि विभिन्न आरोप लगाउँदा मनमा कहिले काँही आत्महत्या गरौँ जस्तो सोच पलायो । शेर्पाका कारण मेरो परिवारले समेत ठूलो पिडा भोगेको छ । शेर्पाले ममाथि लगाएको ५८ करोड भष्ट्राचारको प्रमाण ल्याउन आग्रह गर्दछु,’ पत्रकार सम्मेलनमा थापाले भन्नुभयो । 

एन्फाको चुनाव आउन लाग्दा थापाले पत्रकार सम्मेलन गरेपछि फुटबल वित्तमा तरंग पैदा भएको छ । एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गतेका लागि तय भएको छ । तर थापाले चुनावसँग आफ्नो कुनै सरोकार नरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा थापाले शेर्पाले आफुमाथि लगाएको विभिन्न आरोपको भिडियो क्लिप समेत सावर्जनिक गर्नुभएको थियो । थापाले आफु न्यायको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, फिफा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सवै निकायमा जाने बताउनुभयो । 

उहाँले शेर्पालाई अब माफी नदिने र न्यायका लागि आफु न्यायालय जाने पनि बताउनुभयो । आफुमाथि लगाएको आरोप पुष्टि नभए शेर्पालाई फिफाको आर्टिकल ५८ र एन्फाको विधानको धारा आठ बमोजित कारबाही गरिनु पर्ने माग पनि गर्नुभएको छ । 

फिफाको निर्वाचनका क्रममा एसियाली फुबटल महासंघ (एएफसी) का  तत्कालिन अध्यक्ष मोहमद विन हमामसँग आर्थिक लेन देन गरेको भन्दै फिफाले थापालाई २०७२ साल कार्तिकमा १० बर्ष फुटबलबाट प्रतिबन्ध सहित २० हजार स्वीस फ्रयांक (करिव २१ लाख रुपियाँ) जरिवाना गरेको थियो ।