• १३ साउन २०८१, आइतबार

कैलालीमा निर्वाचन तयारी पूरा

blog

अविनाश चौधरी
धनगढी, वैशाख २८ गते ।
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि कैलालीमा सम्पूर्ण तयारी पूरा भएको छ ।

सफलता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जानकारी दिएको हो । ‘‘निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरु मङ्गलबारै सबै निर्वाचन केन्द्रमा खटिसकेका छन्,’’ निर्वाचन अधिकृत प्रेमराज भट्टले भन्नुभयो, ‘‘निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ ।’’

कैलालीमा पाँच वटा मतदान केन्द्र थपिएर सङ्ख्या ६१९ पुगेको छ । सबै मतदान केन्द्रमा मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी खटिसकेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार मतदान अधिकृत ६१९ जना, सहायक मतदान अधिकृत ६१९ जना, सहायक कर्मचारी एक हजार ८५७ जना र कार्यालय सहयोगी ६१९ जना निर्वाचन केन्द्रमा खटेका छन् । एक हजार २३८ जना स्वमय् सेवक गरेर जिल्लाभरि जम्मा चार हजार ९५२ कर्मचारी खटिएका जनाइएको छ ।

मतदान केन्द्रमा खटेका कर्मचारीहरुले बुधबार र बिहीबार दुई दिनसम्म मतदाता परिचयपत्र वितरण र मतदान स्थलमा आवश्यक तयारीको काम गर्ने निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।

कैलालीको मतदाता सङ्ख्या पाँच लाख २५ हजार १२५ पुगेको छ । २०७४ को निर्वाचन ताका चार लाख ६० हजार मतदाता रहेका थिए । जिल्लाभरि महिला मतदाता सङ्ख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता सङ्ख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता सङ्ख्या ११ रहेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् । यस्तै, गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् ।

कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् । यस्तै, बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।