धनगढी समाचारदाता
धनगढी, वैशाख ८ गते । कैलालीको ग्रामीण क्षेत्रमा महुवा सङ्कलन हुन थालेको छ । सिजन सुरु भएपछि स्थानीयले जङ्गलबाट महुवा सङ्कलन गर्न थालेका हुन् ।
औषधीय गुण भएको महुवा सङ्कलन गर्न अहिले ग्रामीण क्षेत्रका स्थानीयलाई भ्याइनभ्याइ भएको छ । गहुँ भित्र्याउने काम सकिएपछि उनीहरूको सक्रियता महुवा सङ्कलनमा बढेको हो । फुर्सदको समयमा गाउँघरका मान्छेले महुवा सङ्कलन गरिरहेको कैलारी गाउँपालिका–७ छटकपुर वसन्ताका दयाराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जङ्गलमा रहेको महुवाको रुखबाट महुवाको फूल झरिरहेको छ । झरेको फूललाई सङ्कलन गर्ने र सुकाउने कार्य गाउँघरका मान्छेले गरिरहेका छन् । महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्छ । गाउँघरका मान्छेले महुवाबाट सुगन्धित रक्सी बनाउने गरेका छन् । महुवाको फूल मात्रै खानाले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् । महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । वसन्त ऋतुभर यसको फूल फुलेर झर्ने गर्छ ।
झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गरेको चौधरीले बताउनुभयो ।