हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ८ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, मराङमा फोहोर व्यवस्थापनका लागि घरघरमा ‘डोको डस्टबिन’ वितरण गरिएको छ। प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउने उद्देश्यले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय लोमान्थाङले ४५ घरधुरीलाई निगालोबाट बुनिएका ९० वटा डोका निःशुल्क उपलब्ध गराएको हो।
गाउँमा घुम्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे कार्यक्रम सञ्चालनको तयारी भइरहेका बेला वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गर्न ‘डोको डस्टबिन’ प्रयोगमा ल्याइएको संरक्षण क्षेत्र व्यवस्थापन समिति चराङका अध्यक्ष रिजाङ आङग्या गुरुङले बताउनुभयो।
उहाँले भन्नुभयो, “अब गाउँमा फोहोर संकलनका लागि प्लास्टिकका सामग्री प्रयोग हुँदैन। आवश्यक परेमा मात्र स्थानीयले आफैं खरिद गरी प्रयोग गर्न सक्नेछन्।”
हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गर्ने, घटाउने र सडकमा नफाल्ने उद्देश्यले समुदायस्तरमा सचेतनामूलक अभियानसमेत सञ्चालन गरिने एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो।
उहाँका अनुसार प्लास्टिकजन्य वस्तुको प्रयोग हटाउन समुदायमा चासो बढ्दै गएको छ। वातावरणमैत्री सामग्रीको प्रयोगसँगै स्थानीय सीप हस्तान्तरणसमेत गरिनेछ। पहिलो चरणमा फोहोर संकलनका लागि डोको वितरण गरिएको र अब कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो।
एक्यापले आफ्ना कार्यक्षेत्र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ तथा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बस्ती–बस्तीमा वातावरणमैत्री अभियान सञ्चालन गरिरहेको छ। यसअन्तर्गत स्थानीय सीप र प्रविधिबाट निर्मित डोको डस्टबिन वितरणसँगै घरेलु उत्पादनलाई समेत प्रोत्साहन गरिने जनाइएको छ।
जलवायु परिवर्तन, सडक सञ्जाल विस्तार तथा प्रदूषणका कारण परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न लोघेकर दामोदरकुण्ड गाउँपालिकाले वातावरणमैत्री कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ।
सदरमुकाम जोमसोम–कोरला सडकअन्तर्गत चराङदेखि करिब १५ मिनेटको दूरीमा पर्ने मराङमा विश्वकै पुरानो मानिने गुम्बा, चराङ गुफा, दरबार तथा पहाडमा खोपिएका गुफा रहेका छन्।