हुम्ला समाचारदाता
हुम्ला, वैशाख ८ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा ग्याबिन लगाउने कार्यले एकै पटक तीन वटा संरचनालाई सुरक्षित बनाएको छ । बजारको मुख्य भागमै रहेको भिरालो क्षेत्रमा ग्याबिन लगाउँदा नयाँ बन्दै गरेको विद्यालय भवन, सडक र बस्ती सुरक्षित भएको हो ।
छप्रेला बजार क्षेत्रमा रहेको धर्मोदय माध्यमिक विद्यालयका लागि दुईकोठे पक्की भवन निर्माणपछि पहिरो खस्ने समस्या आएपछि यसलाई जोगाउनका लागि ग्याबिन लगाउँदा त्यसले तीन वटा संरचना सुरक्षित बनाएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो । उक्त विद्यालयको क्षेत्रमा गत वर्ष सामाजिक विकास कार्यालयले सो दुईकोठे पक्की भवन निर्माण गरेको थियो । सो भवन निर्माण भएपछि माथिबाट पहिरो खस्ने समस्या आउन थालेपछि यस वर्ष कार्यालयले ग्याबिन लगाउने योजना तर्जुमा गर्नु परेको थियो ।
ग्याबिन लगाउने काम अन्तिम चरणमा छ । त्यसपछि विद्यालय भवन सुरक्षित हुने छ । पहिरो खस्ने भिरालो क्षेत्रमा जोडिएको मुख्य सडक पनि सुरक्षित हुने छ भने सडकको माथिल्लो भागको बस्ती जोगाउन पनि उक्त ग्याबिनले सुरक्षा दिने उहाँको भनाइ छ । यी तीन वटा संरचना जोगाउनका लागि कार्यालयले ग्याबिन लगाउने योजना कार्यान्वयन गरेको उहाँको भनाइ छ ।
३० मिटर लामो पहिरो जाने सो क्षेत्रमा ग्याबिन लगाउने काम भइरहेको सामाजिक विकास कार्यालयका इन्जिनियर धर्मराज बोहोराले बताउनुभयो । हाल १६० वटा ग्याबिन जाली लगाइसकिएको छ भने बाँकी ४० वटा लगाउने काम जारी छ । उहाँले योजना एउटै भए पनि यसले तीन वटा महìवपूर्ण संरचना जोगाउनमा सहयोगी भएको बताउनुभयो ।