बैतडी समाचारदाता
बैतडी, वैशाख ८ गते । सरकारी लापर्बाहीका कारण बैतडीको एक वडाको मालपोत र घर कर डडेलधुरा गएर तिर्नु पर्छ भन्ने सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । हो, यस्तो अनौठो सास्ती ५० वर्षदेखि चलिरहेको छ ।
मेलौली नगरपालिका–८ को सिङ्गो वडाका पाँच सयभन्दा बढी घरपरिवार २०३२ सालदेखि जग्गाको मालपोत कर तिर्न डडेलधुरा धाउँदै आएका छन् । स्थानीय तहको पुनर्संरचना हुँदा पनि यो झन्झट कायमै रहेको छ । सरकारी टोलीको लापर्बाहीका कारण वडाको लालपुर्जाको श्रेस्ता डडेलधुरामै छुटेकाले विशालपुरका किसानले कर तिर्न, कृषि फर्म दर्ता गर्न, चारकिल्ला प्रमाणितको काम डडेलधुराबाट हुँदै आएको छ ।
यहाँका मतदाताले चुनावका बेला भोट भने बैतडीकै नेतालाई दिँदै आएका छन् । वडावासीको मतदाता नामावली बैतडीमै छ । हरेक निर्वाचनका बेला उम्मेदवारलाई भोट दिँदै आए पनि जग्गाको कर र कारोबारका लागि डडेलधुरा धाउनुपर्ने बाध्यता रहेको मेलौलीका युवा महेशदत्त भट्टले बताउनुभयो ।
उहाँले यो समस्या समाधान गरिदिन कैयौँ पटक प्रदेश सरकार हुँदै सङ्घीय राजधानी काठमाडौँसम्म धाए पनि समाधान नभएको गुनासो गर्नुभयो । तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका–८ मा पर्ने साबिकको विशालपुर गाविस ३, ४, ५ र ६ वडाका पाँच सयभन्दा बढी घरपरिवार जग्गाको मालपोत कर डडेलधुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको वडाअध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो ।