शंकर केसी
सल्यान, वैशाख ९ गते । सल्यानमा विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक नीतिमा पुनरावलोकन आवश्यक रहेको देखिएको छ । यहाँका सामुदायिक बिद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको शैक्षिक सत्र २०८२ को तथ्यांक अनुसार सल्यानमा रहेका कुल ४३२ विद्यालयमध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।
त्यस्तै १०० भन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या अझ बढी देखिएको छ । जिल्लाका २६६ विद्यालयमा १०० भन्दा कम विद्यार्थी अध्ययनरत रहेका छन् ।
स्थानीय तहगत विवरण हेर्दा सबैभन्दा धेरै विद्यालय भएको बागचौर नगरपालिकामा ६८ बिद्यालय मध्ये ५० भन्दा कम विद्यार्थी रहेका विद्यालय ३० र १०० भन्दा कम विद्यार्थी भएका बिद्यालय ३९ रहेका छन् । यस्तै जम्मा ६५ विद्यालय रहेको बनगाड कुपिण्डे नगरपालिकामा २४ विद्यालयमा ५० भन्दा कम र ३९ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् । शारदा नगरपालिकामा ५६ विद्यालयमध्ये २७ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् भने ४० विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार कपुरकोट गाउँपालिकामा २३ विद्यालयमध्ये ७ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् भने १०० भन्दा कम विद्यार्थी भएका बिद्यालय ११ छन् । कालीमाटी गाउँपालिकामा ५१ बिद्यालय मध्ये २८ विद्यालयमा ५० भन्दा कम र ३४ विद्यालयमा १०० भन्दा कम विद्यार्थी छन् ।
त्रिवेणी गाउँपालिकामा २८ मध्ये ११ विद्यालय, छत्रेश्वरीमा ४० मध्ये २० विद्यालय, सिद्धकुमाखमा २३ मध्ये १० विद्यालय, कुमाखमा ४७ मध्ये १४ विद्यालय र दार्मा गाउँपालिकामा ३१ मध्ये ५ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् ।
जिल्लाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्यार्थी संख्या झनै कम देखिएको छ भने कतिपय स्थानमा विद्यालय संख्या धेरै भए पनि विद्यार्थी संख्या कम हुँदा शैक्षिक गुणस्तर र स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ।
शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालाहरूका अनुसार विद्यार्थी संख्या घट्दै जानुका कारणमा बसाइँसराइ, जन्मदरमा कमी, निजी विद्यालयतर्फ आकर्षण तथा पहुँचको समस्या प्रमुख रहेका छन् ।