• २६ पुस २०८१, शुक्रबार

लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छौं : मुख्यमन्त्री लामा

blog

मकवानपुर उद्योग वाणिज्य सङ्घकाे आयाेजनामा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत एवं सम्मान कार्यक्रम । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले बागमती प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घले बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत एवम् सम्मानमा बुधबार यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले उद्योग व्यवसायको विकास र विस्तार बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताउनुभएको हो ।

लगानीकर्ता सुरक्षित हुने वातावरण निर्माण नभएसम्म लगानी आउँदैन भन्दै उहाँले ठुलो उद्योग सङ्घ, प्रदेशबाट मझौला र साना तथा घरेलु उद्योग स्थानीय तह मातहत रहने संविधानमा व्यवस्था भएको बताउनुभयो । नकारात्मक कुरा गरेर उद्योग व्यवसायमा लगानी भित्रिँदैन मुख्यमन्त्री लामाले भन्नुभयो, कर लगायतका विषयमा सरकारले सरल र सहज कानुन बनाउँदै उद्योग स्थापनामा सहजीकरण गर्नु आवश्यक छ । 

उहाँले उद्योगीले पनि आफूलाई सुधार गर्नुपर्ने बताउँदै देखाउनका लागि मात्र उद्योग खोल्ने, नक्कली रुपमा उद्योग स्थापना गर्ने र पुनः बन्द गर्ने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताउनुभयो । यसअघि सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले मयूरधाप औद्योगिक क्षेत्र तत्काल सञ्चालनका लागि सहजीकरण गर्न, करलगायतका क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न माग गर्नुभएको थियो । 

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले निर्माण व्यवसायीको भुक्तानी सरकारले दिँदासमेत आर्थिक मन्दीको अहिलेको समयमा अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री लामा, स्वास्थ्यमन्त्री किरण थापामगर, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, बिनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।